Explore news and happenings at Bhaktapur

शान–नान नगरको एउटा सरकारी विद्यालय अवलोकन

आश्विन १६, २०८२

0
रवीन्द्र ज्याख्व

हरेक नीतिको राजा राजनीति त्यसै भनिएको होइन रहेछ । शिक्षा नीति, स्वास्थ्य नीति, खेलकुद नीतिलगायतका सबै नीतिहरू कस्ता हुन्छन् भन्ने कुरा त्यो देशको राजनैतिक व्यवस्थामा भर पर्छ । पुँजीवाद र समाजवादमा निश्चय पनि उपर्युक्त नीतिहरू फरक हुन्छन् नै । नेपालजस्तो पुँजीवादी देशमा शिक्षा, स्वास्थ्य उपचारजस्ता नागरिकका आधारभूत आवश्यकतासमेत नाफा नोक्सानको तराजुमा जोखिन्छ । जसले जति महँगोमा शिक्षा खरिद गर्न सक्छ, उसले उत्ति नै स्तरीय शिक्षा प्राप्त गर्छ । युलेन्स स्कूल र लिटिल एन्जेल्स् स्कूलमा पढ्ने विद्यार्थीहरूसँग सामान्य सरकारी विद्यालयमा पढ्ने विद्यार्थीहरूले प्रतिस्पर्धा गर्न कठिन मात्र होइन, असम्भव प्रायः हुन्छ । यसको विपरीत समाजवादी व्यवस्थामा शिक्षालाई नागरिकको नैसर्गिक अधिकारको रूपमा स्थापित गरिन्छ । गुणस्तरीय शिक्षा सबै नागरिकको सहज पहुँचमा पु¥याइन्छ, कसैलाई पनि विभेद गरिन्न ।

यहाँ चर्चा गर्न खोजिएको जनवादी गणतन्त्र चीनको सिचाङ स्वशासित क्षेत्रअन्तर्गत शान–नान नगरपालिकामा रहेको एउटा विद्यालयको हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट नेता माओ त्सेतुङको नेतृत्वमा चीनमा समाजवादी क्रान्ति सम्पन्न भएसँगै तिब्बत सामन्तवादी चङ्गुलबाट स्वतन्त्र र स्वायत्त क्षेत्र घोषणा भएको थियो । सिचाङ स्वशासित क्षेत्र (तिब्बत) घोषणा भएको ६० औँ वर्षगाँठको अवसरमा भक्तपुर नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना भएको शान–नान नगरपालिकाको निमन्त्रणामा भ्रमण गर्ने क्रममा शान–नान नगरपालिकाको केन्द्रीय भागमा रहेको शान–नान नं. २ सिनियर मिडल स्कूल अवलोकन गर्ने अवसर मिल्यो । त्यसो त शान–नान नगरपालिकामा ३७ हजारको हाराहारीमा जनसङ्ख्या छ । त्यहाँ ४ वटा शिशु स्याहार तथा बाल विकास केन्द्रहरू, २ वटा मिडल स्कूल, २ वटा सिनियर स्कूल, ३ वटा व्यवसायिक स्कूल र १ वटा विशेष स्कूल रहेका छन् । सबै स्कूलहरू पूर्णतः सरकारी स्वामित्वका छन्, जहाँ १५ वर्षसम्मको शिक्षा शत प्रतिशत निःशुल्क छ । त्यसको अर्थ ३ वर्ष अवधिको किन्डरगार्टेन र कक्षा १ देखि कक्षा १२ सम्मको शिक्षा निःशुल्क छ । चीनको अन्य भूभागमा भने कक्षा ९ सम्मको शिक्षा निःशुल्क बनाइएको छ ।

शान–नान नं. २ सिनियर मिडल स्कूलको प्रवेशद्वारमा हामीलाई स्वागत गर्न प्रिन्सिपल, सहायक प्रिन्सिपललगायत शिक्षकहरूको टोली उभिरहनुभएको थियो । हामी गाडीबाट झर्नेबित्तिकै हामीलाई हार्दिकतापूर्वक स्वागत गर्दै प्रिन्सिपलले भन्नुभयो, “समाजवादी शिक्षा प्रणाली रहेको विद्यालयमा २ हजारभन्दा बढी विद्यार्थी र शिक्षकहरूको तर्फबाट हार्दिक स्वागत गर्दछौँ ।” अग्लो भवनको अगाडिको चौडा चोकमा हामी उभिएका थियौँ । स्ट्यान्डमा राखिएका ठुल्ठुला फोटोहरू देखाउँदै केही समय प्रिन्सिपलले हामीलाई स्कूलको परिचय दिनुभयो । अचानक उहाँको स्वास्थ्य अवस्थामा खराबी आएपछि हामीलाई विद्यालयको भ्रमणको सम्पूर्ण जिम्मेवारी सहायक प्रिन्सिपलले लिनुभयो ।

विद्यालयमा कक्षा १०, ११ र १२ को पढाइ हुनेरहेछ । करिब २ हजारको सङ्ख्यामा विद्यार्थीहरू अध्ययनरत रहेको बताइयो । स्थानीय विद्यार्थीहरू बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म विद्यालयमा समय बिताउने र त्यसपछिको समय अभिभावकसँग बस्ने तथा टाढाका विद्यार्थीहरू हप्ताको सातै दिन चौविसै घण्टा विद्यालयमै समय बिताउने रहेछन् । आधुनिक सुविधासम्पन्न होस्टेल, इन्डोर तथा आउटडोर खेल प्रशिक्षण स्थलहरू, स्वीमिङ पुललगायतका सुविधा विद्यालय हाताभित्रै उपलब्ध छन् ।

केही कक्षा कोठाभित्र प्रवेश गर्ने अवसर मिल्यो । एउटा कोठामा करिब ५० जना विद्यार्थीको लागि डेस्क बेञ्चको व्यवस्था छ । संयोगले हामी कक्षा कोठाभित्र पस्दा कोठामा विद्यार्थीहरू थिएनन् तर सबैका पुस्तक, कापी कलमहरू आ–आप्mनो डेस्कमै राखिएका थिए । सबै विद्यार्थीका लागि ट्याबको व्यवस्था रहेछ र सबै ट्याबहरू चार्जमा छाडिएका थिए । अगाडिको भित्तामा मध्य भागमा स्मार्टबोर्ड र दुवै छेउमा ह्वाइटबोर्ड थिए । सहायक प्रिन्सिपल भन्दै हुनुहुन्थ्यो, “प्रत्येक कक्षाकोठामा आधुनिक सूचना प्रविधिको प्रयोग हुन्छ, सबै विद्यार्थीहरूले ट्याब प्रयोग गर्छन् । कक्षाकार्य, गृहकार्य, प्रोजेक्टवर्क सबै कक्षाकोठाभित्र नै गर्छन् । कक्षाकोठाबाट बाहिर गएपछि विद्यार्थीलाई गृहकार्य वा कुनै किसिमको पढाइको तनाव हुँदैन । कापी किताब पनि कक्षाकोठाबाट बाहिर लाँदैनन् ।”

उहाँको कुरा सुनेर हामी अचम्ममा पर्दै थियौँ । एक जना साथीले विद्यार्थीहरूको किताब पल्टाउँदै हुनुहुन्थ्यो । ‘पैसा र’ उहाँ अचानक चिच्याउनुभयो ।

सहायक प्रिन्सिपलले मुसुक्क हाँस्दै भन्नुभयो,“कक्षा कोठाभित्र कसैको कुनै पनि चिज चोरी हुन्न । पढाइ शुल्क तिर्न पर्दैन, पूरै निःशुल्क छ । खाना, बास र ड्रेसको व्यवस्था स्कूलले नै गर्छ । विद्यार्थीलाई आवश्यक पर्ने कापी, कलम, किताब, ट्याब सबै विद्यालयले बन्दोबस्त गर्छ । त्यसबाहेक प्रत्येक विद्यार्थीलाई मासिक ४२३ युयान (चिनियाँ रूपैयाँ) सरकारको तर्फबाट भत्ता प्रदान गरिन्छ । त्यसैले कसैलाई चोरी गर्ने आवश्यकता नै पर्दैन ।” ‘खान, बस्न र पढ्न सबै निःशुल्क छ भने फेरि प्रतिविद्यार्थी ४२३ युयान भत्ता किन प्रदान गरिएको त ?’ मसँगै बस्नुहुने अर्को नेपाली साथीले जिज्ञासा पोख्नुभयो ।

सहायक प्रिन्सिपलले शान्तपूर्वक जवाफ दिनुभयो, ‘विद्यार्थीका आधारभूत आवश्यकता सरकारको तर्फबाट निःशुल्क प्राप्त हुन्छ । त्योबाहेक विद्यार्थीहरू कहिलेकाहीँ स्ट्रिट फूड खान रुचाउँछन्, मनोरञ्जन गर्न चाहन्छन्, कहीँ घुम्न जान्छन् । त्यसका लागि आवश्यक खर्च व्यवस्थापन गर्न मासिक ४२३ युयान भत्ता दिइएको हो । प्रत्येक विद्यार्थीसँग क्रेडिट कार्ड हुन्छ र त्यसैको आधारमा कसले कुन शीर्षकमा कति खर्च ग¥यो भन्ने अनुगमन पनि गरिन्छ ।’ ‘आहा, कति राम्रो व्यवस्था र अनि महिनामा खर्च गरेपछि बाँकी भएको रकम सरकारले फिर्ता लिन्छ होला नि ?’ उनै साथीले नेपालका लागि अस्वाभाविक जस्तै लाग्ने अनुभूतिसहित थप जिज्ञासा राख्नुभयो ।

‘होइन । बाँकी रहेको पैसा विद्यार्थीले अभिभावकलाई बुझाउँछ । अभिभावकले घर खर्च गर्छ ।’ सहायक प्रिन्सिपलले सहजै उत्तर दिनुभयो ।

“ए, गज्जबको व्यवस्था रहेछ ।”

कक्षा कोठाबाट बाहिरिँदै गर्दा सहायक प्रिन्सिपलले ढोकाको बायाँपट्टिको बोर्ड देखाउँदै भन्नुभयो, “हरेक कक्षाकोठाको ढोकासँगै डिजिटल डिस्प्ले बोर्ड हुन्छ, जसमा कक्षाको रुटिन, पढाउने शिक्षकको नाम, आजको पढाइको विषय अनि प्रोजेक्टसमेत डिस्प्ले गरिन्छ ।” “नेपालका विद्यालयहरूमा भए सेतो कागजमा सूचना टाँस्दा टाँस्दा भित्ता नै फोहर बनाइएको हुन्छ है ।” नेपाली साथीहरू आपसमा साउती मार्दै थिए ।

भवनको मध्य भागमा चौडा खुला क्षेत्रसहित एकैचोटि धेरैजना तलमाथि गर्न मिल्ने भ¥याङको व्यवस्था छ । प्रत्येक तलामा तातो र चिसो स्वच्छ पिउने पानीको व्यवस्था र सफा शौचालयको पनि व्यवस्था गरिएको छ ।
बाहिर सिमसिम पानी परिरहेको थियो । हामीमध्ये कसैलाई पनि पानीमा रुझ्न मन थिएन । त्यसैले हामी विद्यालयको भवनभित्रै बसेर अनेक प्रश्न गर्दै थियौँ ।

हामी सबैलाई चारैतिर घेरा बनाउन दिएर बिचमा सहायक प्रिन्सिपल बस्नुभयो र भन्नुभयो, ‘यहाँ हरेक विद्यार्थीले १० वटा विषय पढ्नुपर्छ । चिनियाँ र तिब्बती भाषा दुवै अनिवार्य पढ्नुपर्छ । साइन्स फ्याकल्टीले फिजिक्स, केमेस्ट्री, बायोलोजीसँगै गणित पढ्नुपर्छ भने आट्र्स फ्याकल्टीकाले भाषा साहित्यसँगै गणित पढ्नुपर्छ । यीबाहेक राजनीतिशास्त्र, भूगोल र नैतिक शिक्षा सबैलाई अनिवार्य छ । हरेक विद्यार्थीले चीनको भूगोल र इतिहास, चिनियाँ विशेषतासहितको समाजवादी व्यवस्था, चिनियाँ जनक्रान्ति र समाजवादी आचरणबारे कक्षा लिनुपर्छ । रोचक कुरा के भने, कुनै पनि विषयका शिक्षकले राजनीतिशास्त्र विषय पढाउन सक्नुपर्छ । त्यस्तैगरी सबै विद्यार्थीहरूलाई हरेक साँझ ७ः३० बजेदेखि ८ बजेसम्मको राष्ट्रिय समाचार हेर्न लगाइन्छ । नयाँ पुस्ताका चिनियाँ जनताले हरेक दिनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिबारे जानकारी लिन्छन् ।

“नयाँ पुस्ताका तिब्बती विद्यार्थीहरूले कति वटा भाषा सिकेका हुन्छन् त ?” हामीमध्ये कसैको प्रश्नमा सहायक प्रिन्सिपलले उत्तर दिनुभयो, “प्रत्येकले आफ्नाे मातृभाषा तिब्बती र राष्ट्रिय भाषा चिनियाँ अनिवार्य पढेका हुन्छन् भने अङ्ग्रेजी भाषा ऐच्छिक विषय हो ।”

विद्यालयका सहायक प्रिन्सिपल निरन्तर उही जोश र जाँगरका साथ बोलिरहन सक्ने खुबीको हुनुहुँदोरहेछ । तर, हामी भने अर्को कार्यक्रमका लागि ढिला भइसकेका थियौँ । त्यसैले मनले नचाहँदा नचाहँदै पनि हामीले उहाँलाई नेपालको तर्फबाट मायाको चिनो प्रदान गरी सामूहिक फोटो खिच्यौँ र बिदा माग्यौँ ।

सारमा, पुँजीवादी शिक्षा प्रणालीमा हुर्केका हामीले समाजवादी शिक्षा प्रणालीको एउटा नमुना हेर्ने अवसर पायौँ । साँच्चै जनताको हित हुने राजनैतिक व्यवस्थामा शिक्षा सबैका लागि नैसर्गिक अधिकार हुँदोरहेछ । अभिभावकलाई सन्तानलाई पढाउन खर्च जोहो गर्नुपर्ने तनाव नहुँदो रहेछ । राज्यले शिक्षाको जिम्मेवारी लिएको हुँदा विद्यार्थीहरू राज्य र सरकारप्रति उत्तरदायी हुँदारहेछन् । अध्ययनपश्चात् युवाहरू देश निर्माण र समाजको प्रगतिका लागि आप्mनो ज्ञान र सीप प्रयोग गर्दा रहेछन् । त्यही भएर पुँजीवादी व्यवस्थामा दुई तीन सय वर्ष लगाएर गरिने विकास समाजवादी देशमा बीस तीस वर्षमै सम्भव भएको तिब्बती विकासले नै प्रस्ट पार्दछ ।

Leave A Reply

Your email address will not be published.