भक्तपुर नगरपालिकाका कर्मचारीहरुबीच दशैंको शुभकामना आदानप्रदान
भक्तपुर । २०८२ असोज १०
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजनामा विजया दशमीको अवसरमा शुभकामना आदानप्रदान तथा मार्गनिर्देशन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

सांसद सुवालले भ्रष्टाचारीको सम्पत्ति जलाउनुभन्दा सबै सम्पत्ति राष्ट्रियकरण गर्नु उचित हुने र भ्रष्टाचारीलाई कानुनी कारबाही अगाडि बढाउनुपर्ने बताउँदै उहाँले देशलाई ऋणको पासोमा पार्नु नै शासन सत्तामा गएका मन्त्री प्रधानमन्त्रीहरुको भ्रष्टाचारको प्रमाणको रुपमा रहेको स्पष्ट पार्नुभयो ।
पुँजीवादी व्यवस्था धनी झन् झन् धनी हुने र गरिब झन् झन् गरिब हुने व्यवस्था भएको हुँदा देशमा समाजवादी व्यवस्थाले मात्र व्यापक जनताको हितमा हुने उहाँले बताउनुभयो ।
निर्वाचनलाई धाँधलीरहित बनाउनुपर्नेमा जोड दिँदै उहाँले नेपाल मजदुर किसान पार्टीले नयाँ पुस्तालाई राजनैतिक रुपमा सचेत र संगठित बनाउन विभिन्न पुस्तकहरु प्रकाशन गरेको बताउँदै कर्मचारीहरले विश्वका नयाँ र पुराना आन्दोलनहरुबारे अध्ययन गर्नुपर्ने बताउनुभयो ।
जनप्रतिनिधि तथा कर्मचारीहरुले पदप्रति जिम्मेवार भएर काम गर्नुपर्ने बताउँदै उहाँले सरकार जनताको भावनाअनुसार काम गर्न प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।

प्रमुख प्रजापतिले जसरी देश रक्षाको निम्ति देशका सुरक्षाकर्मीहरु सदैव तैनाथ हुन्छ, त्यसरी नै कर्मचारीहरु पनि आफ्नो कर्तव्यबारे सचेत भएर लाग्नुपर्ने बताउँदै देश विकासका मेरुदण्डको रुपमा रहेका युवाहरुलाई देशमै केही गर्न सक्ने गरी कार्यक्रमहरु अगाडि ल्याउनुपर्ने बताउनुभयो ।
जेनजी आन्दोलनको क्रममा विदेशी राष्ट्रहरुसँगको महत्वपूर्ण दस्तावेजहरु सबै जलिसकेको अवस्थामा त्यसको परिणाम अब नेपाली आफैले भोग्नुपर्ने बताउँदै उहाँले वर्तमान प्रधानमन्त्रीको नियुक्ति असंवैधानिक रहेको प्रष्ट पार्नुभयो ।
समाजवादी र पुँजीवादी व्यवस्थाबीचको भिन्नताबारे अवगत गराउँदै नगर प्रमुख प्रजापतिले समाजवादी व्यवस्था आम जनतामा केन्द्रित व्यवस्था हो र यसले व्यापक जनताको हितमा काम गर्ने बताउनुभयो ।
देशमा ब्याप्त भ्रष्टाचार र अनियमित गतिविधिका कारण समाजमा बढ्दै गएको आक्रोश जेनजीमार्फत पोखिएको बताउँदै उहाँले भ्रष्टाचारीलाई छानबिन गरी कारबाही गर्नु आवश्यक भएको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले दशैं, दिपावली र न्हुँद ११४५ को शुभकामना व्यक्त गर्दै दशैंमा आफ्ना व्यक्तिगत गतिविधिसँगै कर्मचारीहरुले सामाजिक र राजनैतिक गतिविधिमा सचेतना अपनाउनुपर्ने बताउनुभयो ।

उहाँले शाननान शहर भ्रमणमा धेरै कुरा सिक्ने अवसर मिलेको बताउँदै कृषि, सहकारी, उद्योग आदि सबै क्षेत्रमा सरकारको लगानी रहेका कारण विकास गर्न सहज भएको हो भन्नुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले चीनको शान नान प्रान्त द्रुत गतिमा विकास भइरहेको बताउँदै मित्रराष्ट्र देशहरुबाट सिकेर नेपालले पनि यहाँको सामाजिक र आर्थिक विकासमा अगाडि बढ्नपर्ने आवश्यकता औंल्याउनुभयो ।



