भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा निओ फ्युजन परिवारको आयोजनामा विजया दशमीको शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार सम्पन्न भयो ।

युवा पुस्तालाई धनी होइन, असल नागरिक बन्न प्रेरित गर्दै उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरु स्थापनाले धेरै विद्यार्थीहरु शिक्षित हुने अवसर पाएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरका परम्परागत बाजा प्रशिक्षणमा युवाहरुको आकर्षण बढिरहेको बताउँदै पुरानो बाजालाई संरक्षण गर्दै लानुपर्ने चेत नयाँ पुस्तामा हुनु नै भक्तपुरको लागि सुखद पक्ष भएको बताउनुभयो ।
भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनबाट भएको आगजनी र तोडफोडले देशले खरबौंको घाटा व्यहोर्नुपरेको बताउँदै उहाँले जेनजीको नाममा धेरै एनजीओ र आइएनजीओहरुको चलखेल बढिरहेकोतर्फ सबैजना सजग हुनुपर्ने प्रष्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले युवाहरुमा संघर्षशील भावना, कठिनाई व्यहोर्न तयार हुनुपर्ने र वैचारिक क्षमता हुनुपर्ने बताउँदै कोही व्यक्ति उमेरले होइन, उसको विचार सिद्धान्तले उसलाई युवा बनाउने धारणा राख्नुभयो ।
भूकम्पबाट क्षतिग्रस्त भक्तपुरका सयौं सम्पदाहरु भक्तपुर नपाले आफ्नै बलबुत्तामा पुनःनिर्माण सम्पन्न गरिसकेको बताउँदै उहाँले विदेशीको सहयोगमा उनीहरुको स्वार्थ लुकेको हुन्छ, विदेशीको भरमा देश विकास गर्ने सोच त्याग्नुपर्छ भन्नुभयो ।

वडाध्यक्ष कवांले नेपालमा भर्खरै भएको जेनजी आन्दोलन शासन सत्तामा गएकाहरुलाई खबरदारीस्वरुप आयोजना गरिएको भए पनि त्यस आन्दोलनमा देखिएका विदेशी चलखेलप्रति सबै जनता सचेत हुनु आवश्यक भएको थियो ।
स्थानीय स्काउट प्रमुख आयुक्त तथा निओ फ्युजनका निर्देशक बालकृष्ण वनमालाले भक्तपुरको कला र संस्कृति आफैमा अद्धितीय रहेको बताउँदै युवाहरुमा यहाँको कला संस्कृतिप्रति उत्तरदायी बनाउन निओ फ्युजनले सीपमूलक तालिमका साथसाथै परम्परागत बाजा प्रशिक्षण कार्यक्रमलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।
उहाँले युवाहरुलाई समाज र देशप्रति उत्तरदायी बनाउने हिसाबले पनि संगठित गर्ने कार्य गर्दै आएको बताउँदै चाडपर्वलाई रचनात्मक ढंगले मनाउन प्रेरणा दिनुभयो ।
कार्यक्रममा निओ फ्युजनका सबिन लेबा, सृजना कोजु र विमद बाहलाले निओ फ्युजनका गतिविधिबारे प्रष्ट पार्दै दशैंको शुभकामना दिनुभयो ।