Explore news and happenings at Bhaktapur

भक्तपुरमा सांस्कृतिक सम्पदा पदयात्रा सम्पन्न : भक्तपुरका १६ वटा पोखरीहरु परिक्रमा

भक्तपुर । २०८२ भदौ २२

0
भक्तपुर नगरपालिकाको आयोजनामा सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम आइतबार एक भव्य कार्यक्रमबीच सम्पन्न भयो । भक्तपुर नगरपालिकाका प्रमुख, उपप्रमुख तथा विशिष्ट अतिथिले परेवा उडाएर भक्तपुर नपा वडा नं. ९ सूर्यमढीबाट ¥यालीको शुभारम्भ गर्नुभयो ।
सम्पदा पदयात्राका क्रममा ऐतिहासिक एवम् सांस्कृतिक नगर भक्तपुरको भ्रमणमा आएका आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई नगरका विभिन्न स्थानमा छरिएर रहेका सम्पदाहरु परिचित गराउने र सम्पदा संरक्षण कार्यमा उत्साहित गर्ने उद्देश्यले नगरको दक्षिणी भेगमा रहेका १६ वटा पोखरीहरु परिक्रमा गरी भक्तपुर नपा वडा नं. १ दुधपाटीस्थित भाजु पुखुमा पुगेर कार्यक्रमको समापन भयो ।
समापन कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका सचिव एवम संघीय सांसद प्रेम सुवालले स्वास्थ्य र पर्यावरणीय
हिसाबले पोखरीहरुको महत्व अद्धितीय रहेको बताउँदै भक्तपुरका कला संस्कृति संसारकै उत्कृष्ट छन् भन्नुभयो ।
ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरु मानव सभ्यताको विकासको प्रतिक भएको हुँदा यसको संरक्षण र संबद्र्धनले मानव इतिहासलाई नै जीवित राख्न मद्दत पुर्याउने बताउँदै उहाँले नेपालको मात्र नभई विश्वकै विश्व सम्पदामा सूचिकृत सम्पदाहरुको संरक्षण र सम्बद्र्धनमा जोड दिँदै जानुपर्ने बताउनुभयो ।
सांसद सुवालले इजराइलले प्यालेष्टाइनप्रति गरिरहेको नरसंहारको भत्सर्ना गर्दै इजरायलले गाजा क्षेत्रको अस्तित्व संकटमा पार्न प्यालेष्टाइनको सांस्कृतिक र प्राकृतिक क्षेत्र ध्वस्त बनाउन खोजिरहेको बताउनुभयो ।
भक्तपुरमा दुईवटा सम्पदाहरु विश्व सम्पदा सूचिमा सूचिकृत रहेको बताउँदै विश्व सम्पदा संसारकै सभ्यताको रुपमा रहेको हुँदा यसलाई संरक्षण गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरमा ४० वटा पोखरी रहेकोमध्ये ३४ वटा अस्तित्वमा रहेको बताउँदै ती सम्पदाहरुलाई अध्ययन अनुसन्धान गर्दै पुनःनिर्माण गर्ने प्रयास भक्तपुर नपाबाट हुँदै आएको बताउनुभयो ।
भक्तपुरको कला संस्कृति संरक्षणमा भक्तपुरबासी जनताको उल्लेख्य सहभागिता नै यहाँको पहिचान बनिसकेको बताउँदै उहाँले एउटा सम्पदाको अन्त्य हुनु भनेको इतिहास समाप्त हुनु हो भन्दै सम्पदाको महत्व घट्ने काम कसैबाट नहोस् भन्नेतर्फ भक्तपुर नगरपालिका अत्यन्त सचेत भएर लागिरहेको बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले भक्तपुर नपाको आयोजनामा भएको सम्पदा पदयात्रा सम्पदाहरुको अवलोकन मात्र नभई अध्ययन गर्ने अवसर प िनबनेको बताउनुभयो ।
उहाँले भक्तपुरको खँचास्थित खँचा पोखरी विशेष महत्वको पोखरी भएको हुँदा यस पोखरीको विस्तृत अध्ययन अनुसन्धानको खाँचो औंल्याउँदै भक्तपुरका पोखरीहरु अध्ययन अनुसन्धानकर्ताहरुको लागि राम्रो स्रोतको रुपमा रहेको उल्लेख गर्नुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले समाजलाई बुद्धिजीवीकरण गर्दै हरेक क्षेत्रलाई नमुना बनाउने प्रयासमा जोड दिँदै आएको बताउँदै भक्तपुरनपाले सांस्कृतिक प्रतियोगिताहरुको आयोजना गरी संस्कृतिकर्मीहरुलाई उत्साहित गर्ने काम पनि गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका रोहिणी खनालले सम्पदा पदयात्रामा उत्साहजनक सहभागिता रहेको बताउँदै पदयात्राले भक्तपुरका सम्पदाहरु उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको छ भन्नुभयो ।
त्यस्तै नेपालका कला परिषद्का आयुषा श्रेष्ठले भक्तपुरका मूर्त र अमूर्त सम्पदालाई अन्तर्राष्ट्रियकरण गर्ने हेतलु भक्तपुर नपासँग सहकार्य गरी सम्पदा पदयात्रा कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो ।
सम्पदा पदयात्रा कार्यक्रमको समापन कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व र उद्घाटन कार्यक्रममा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले कार्यक्रमको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिका प्रमुख अतिथि प्रेम सुवाललगायतले खाद्य स्टल तथा भक्तपुर घरेलु उद्योगका स्टलहरु अवलोकन गर्नुभएको थियो ।
भक्तपुरको पोखरी चिनौँ, सम्पदा संक्षणमा अघि बढौँ ¤ भन्ने नाराका साथ भनपा वडा नं. ९ को सूर्यमढी कुम्ह त्वः बाट शुरु भएको साँस्कृतिक सम्पदा पदयात्रा नायो खीं बाजासहित जेँला पुखु, खँचा पुखु, याता (न्हुँद) पुखु, गोल्मढी बारे पुखु, कुमारी पुखु, खँला (ख्यो) पुखु, लैको पुखु, तलेजु मन्दिर परिसर भित्र रहेको सुनधारा पुखु, भक्तपुर तलेजु परिसरभित्रको मूल चोकको उत्तर पश्चिम कुनामा रहेको दुमाजु पोखरी, भक्तपुर दरबार क्षेत्रको मध्यमा अवस्थित भण्ड पुखु (भण्डार पुखु), वडा नं. ३ नासमनाको नासमना पुखु (मंगलकुण्ड पोखरी), मंगलाछेँ पुखु, वडा नं. ४ देगमना टोलमा अवस्थित देगमना पुखु र वडा नं. ३ स्थित तेखा पुखु हुँदै दुधपाटीस्थित भाजु पुखुमा पुगेर समापन भयो ।
भक्तपुरको सांस्कृतिक गतिविधि तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न ठाउँ–ठाउँमा सांकृतिक प्रदर्शनी जस्तै लाखे प्याखं, फाकंदली, नागाचा प्याखं, देवी प्याखं, संगीत, लुसी प्याखं, परम्परागत वाद्यवादन, माक प्याखं, हनुमान प्याखं, बासुरी बाजा, खाद्य स्टल तथा मौलिक उत्पादनहरूको प्रदर्शनी केन्द्रहरूसमेत राखिएको थियो ।
सम्पदा पदयात्रा ¥यालीमा सहभागी भक्तपुर नपाका जनप्रतिनिधि, विदेशी पर्यटक, विभिन्न संघ संस्थाका प्रतिनिधि, कर्मचारी, भक्तपुर पर्यटन सद्भाव संघ, महिला स्वास्थ्य स्वयम्सेविका, पर्यटक प्रहरी, नेपाल स्काउट, स्थानीय पथप्रदर्शक, भक्तपुर घरेलु तथा साथा उद्योग संघ, विद्यालय, ट्राफिक प्रहरी, सहकारी संस्था, सांस्कृतिक समूह, भक्तपुर पर्यटन स्थानीय पथप्रदर्शक परिचालन समिति, घरेलु उद्योगी व्यवसायी, स्थानीय दाफा भजनलगायत स्थानीय जनताको उत्साहजनक सहभागिताको लागि भक्तपुर नगरपालिका हार्दिक धन्यवादज्ञापन गर्दछ ।
सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम भक्तपुर नगरपालिकाको आयोजना र नेपाल पर्यटन बोर्ड, नेपाल कला परिषद्, भक्तपुर पर्यटन विकास समिति, होटल एशोसिएसन अफ भक्तपुर, पर्यटक प्रहरीलगायतको सहकार्यमा भएको थियो ।

Leave A Reply

Your email address will not be published.