सम्पदा पदयात्राको क्रममा परिक्रमा गरिने भक्तपुर नगरका दक्षिणी भेगका महत्त्वपूर्ण पोखरीहरूको संक्षिप्त विवरण
२०८२ भाद्र २० गते
भक्तपुर नगरपालिकाको आयोजनामा २०८२ भदौ २२ गते आइतबार हुने सम्पदा पदयात्राको क्रममा परिक्रमा गरिने भक्तपुर नगरका दक्षिणी भेगका महत्त्वपूर्ण पोखरीहरूको संक्षिप्त विवरण :
१. च्याम्हासिंह पुखू

भक्तपुरको पूर्वमा अवस्थित च्याम्हासिंह पोखरी एक ऐतिहासिक र सांस्कृतिक पोखरी हो । ८ वटा सिंहहरू पोखरीको ४ दिशाको प्रवेशद्वारमा राखिएको यो पोखरीलाई यही सिंहहरूको नामबाटै च्याम्हासिंहको नामले चिनिन्छ । च्याम्हासिंह भनेपनि हाल एउटा सिंहको भने आधा मात्रै अस्तित्व रहेको छ । भक्तपुर नगरपालिका वडा नं. ९ मा अवस्थित वागीश्वरी मा.वि.को परिसरमा रहेको यो पोखरी एक धार्मिक महत्त्वको पोखरीको रूपमा स्थानीय वासिन्दाहरूले लिएको पाइन्छ ।
२. जेलाँ पुखू

भक्तपुर नगरपालिका वडा नं. ८ जेँला स्थित क्षेत्रफलको आधारमा सानो आकारको पोखरी भएपनि जेँला पोखरी एक महत्त्वपूर्ण पोखरी हो । विगतमा अत्यन्त फोहोर र अव्यवस्थित अवस्थामा रहेको जेँला पोखरीलाई भक्तपुर नगरपालिकाले जीर्णोद्वार गर्दै हाल अत्यन्त आकर्षक पोखरीको रूपमा परिणत गरेको छ । रात्रीको समयमा पानीको फोहोरा र रंगीविरंगी बत्तीले पोखरीलाई अत्यन्त आकर्षक बनाएको छ ।
३. खँचा पुखू

भक्तपुर नगरपालिका वडा नं. ७ इनाचो, खँचास्थित यो पोखरी भौगोलिक रूपमा अत्यन्त महŒवपूर्ण स्थानमा अवस्थित एक महŒवपूर्ण पोखरी हो । विगतमा भक्तपुर नगर क्षेत्रभित्र अग्ला अग्ला निजी आवासीय भवनहरू निर्माण नहुँदा पाँचतले मन्दिरको पूर्ण प्रतिविम्व देखिने पोखरीको रूपमा पनि खँचा पुखू प्रख्यात थियो । पोखरीको ३ दिशामा गहिरो ठाउँ रहेतापनि पोखरीमा वर्षैभरी पानी अडिने गरी निर्माण गरेको यो पोखरी मध्यकालीन उत्कृष्ट पोखरी निर्माण शैलीको उदाहरणको रूपमा पनि रहेको पाइन्छ । यो पोखरी हाल संरक्षित अवस्थामा रहेको छ ।
४. याता (न्हाद) पुखू

भक्तपुर नगरपालिका वडा नं. ७ यातामा अवस्थित याता पुखू बस्तीको लगभग बिचमा रहेको एउटा ऐतिहासिक पोखरी हो । यो पोखरीको उत्तरमा नवीन नि.मा.वि सामुदायिक विद्यालय रहेको छ भने पश्चिम र उत्तरमा खुला ठाउँ रहेको छ । विगतमा स्थानीय वासिन्दाहरूले घरायसी र कृषि उपयोगको लागि प्रयोग गर्दै आएको यो पोखरी हाल नगरपालिकाले जीर्णोद्धार गरी संरक्षण गर्नुका साथै मत्स्यपालन गरी व्यवसायिक प्रयोग समेत गरेको पाइन्छ ।
५. गोल्मढी बारे पुखू

भक्तपुर नगरपालिका वडा नं. ७ को वडा कार्यालय परिसरमा रहेको यो पोखरी कमल पोखरीको रूपमा समेत चिनिन्छ । विगतमा स्थानीय किसानले आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा हडप्ने कोसिस गरिएको यो पोखरीलाई स्थानीय जनसमुदाय र नगरपालिकाको पहलमा सार्वजनिक कायम गरी पुनःनिर्माण गरिएको छ । हाल यो पोखरीमा माछापालन गरी अत्यन्त आकर्षक रूपमा भक्तपुर नगरपालिकाले संरक्षण गरिएको छ ।
६. कुमारी पुखू

भक्तपुरको ऐतिहासिक अष्टमातृका पिठ मध्ये कुमारी पिठ परिसरमा अवस्थित कुमारी पोखरी एक धार्मिक एवम् सांस्कृतिक पोखरी हो । भक्तपुर नगरपालिका वडा नं. ५ कुमारीस्थान स्थित कुमारी पोखरी स्थानीय वासिन्दाहरूले हालसम्म पनि सदुपयोग गर्दै आएको पाइन्छ । यो पोखरी मन्दिर परिसमा रहेकोले यसको विशेष महŒव रहेको छ ।
७. खँला (ख्यो) पुखू

भक्तपुर नगरपालिका वडा नं. ५ भेलुखेल (योसिंख्यो) स्थित खँला पुखू विगतमा प्राकृतिक रूपले निर्माण भई ख्यो पुखूको रूपमा प्रयोग भइरहेको पोखरी थियो । केही समय अगाडि जीर्णोद्धार गरी बिचमा महादेवको मूर्ति राखी निर्माण गरिएको उक्त पोखरी पानी नअड्नाले सुख्खा भएको थियो । हालै भक्तपुर नगरपालिका जनप्रतिनिधि वहाली भएपछि पुनः यसको मर्मत सम्भार गरी पानी अडाई यो पोखरीको सदुपयोग भइरहेको छ ।
८. लैको पुखू

भक्तपुर नगरपालिका वडा नं. ५ खँला स्थित गोलाकार पोखरी मध्येको एक यो पोखरी बस्तीको बिचमा गःहितिबाट थोरै दक्षिण पूर्व दिशामा अवस्थित छ । विगतमा गोलाकारको रूपमा यो पोखरीलाई हालै जीर्णोद्धार गर्दा षटकोण आकारमा जीर्णोद्धार गरिएको छ । भक्तपुरको सानो पोखरीमध्ये एक हो । जीर्णोद्धारको क्रममा फोहोराको व्यवस्था गरी हाल यो पाखरीलाई थप आकर्षक बनाइएको छ ।
९. सुनधारा पुखू

भक्तपुर नगरपालिका दरबार क्षेत्रको तलेजु मन्दिर परिसर भित्र रहेको सुनधाराको पश्चिम तिरको सानो पोखरी सुनधारा पोखरी हो । सम्भवतः यो भक्तपुर नगरकै सबैभन्दा सानो पोखरी हो । सुनधारासँगै रहेको यो पोखरीको बिचमा नागको धातुको प्रतिमा स्थापित गरिएको छ । जसले यो पोखरीलाई थप आकर्षक बनाएको छ ।
१०. दुमाजु पुखू

भक्तपुर तलेजु परिसर भित्रको मूल चोकको उत्तर पश्चिम कुनामा रहेको दुमाजु पोखरी एक ऐतिहासिक सांस्कृतिक एवम् धार्मिक महŒवको पोखरी हो । यो पोखरी पनि गोलाकार रूपमा रहेको छ । रुन्चे पोखरीको नाममा समेत परिचित यो पोखरी विगतमा बालबालिकाहरूलाई रुन्चे लाग्दा यो पोखरीमा स्नान गराउँदा रुन्चे निको हुने जनविश्वास रहेको पाइन्छ । तलेजू परिसरमा अवस्थित रहेको हुँदा यो पोखरीमा सबैको सहज पहुँच नपुगेको देखिन्छ ।
११. भण्ड पुखू (भण्डार पुखू)

भक्तपुर दरबार क्षेत्रको मध्यमा अवस्थित भण्ड पुखू
(भण्डार पोखरी) एक ऐतिहासिक पोखरी हो । कुनै बेला जिल्ला प्रहरी परिसर भित्रको यो पोखरी सर्वसधारणको पहुँचभन्दा बाहिरको पोखरीको रूपमा रहेको थियो । हाल यो पोखरी कला सङ्ग्रहालयको प्रदर्शनी कक्ष र भक्तपुर नगरपालिकाको सम्पदा शाखामा परिसरमा रहेको छ । यो पोखरी भित्र मल्लकालमा महŒवपूर्ण धनसम्पत्तिहरू भण्डार गरिएर राखिएको जनविश्वास रहेको छ । यो पोखरी दरबार क्षेत्रमा अवस्थित रहेको हुँदा पर्यटकीय हिसावले समेत अत्यन्त महŒवको रूपमा रहेको छ ।
१२. नासमना पुखू (मंगलकुण्ड पोखरी)

भक्तपुर नगरपालिका वडा नं. ३ नासमना चोकको उत्तर र पूर्व दुईतिर निजी घरले घेरिएको, दक्षिण र पश्चिममा पाटी र मन्दिर रहेको नासमना पुखू (मंगलकुण्ड पोखरी) एक ऐतिहासिक र धार्मिक महŒवको पोखरी हो । विगतमा वरपरका वासिन्दाहरूले पौडी खेल्ने यो पोखरी स्थानीय वासिन्दाले घरायसी प्रयोजनको लागि पनि प्रयोग गरेको पाइन्छ । यो पोखरी सम्पदा क्षेत्रमा रहनाले पर्यटकीय दृष्टिकोणले समेत महŒवपूर्ण पोखरीको रूपमा रहेको छ ।
१३. मंगलाछेँ पुखू

मंगलतिर्थ घाट जाने बाटोको पश्चिमपट्टि उकालोमा मचो गणेश मन्दिरको पूर्वमा अवस्थित सानो पोखरी मंगलाछेँ पुखू हो । विगतमा ख्यो पुखूको रूपमा समेत प्रयोग भएको पोखरी हाल मर्मत सम्भार गरी संरक्षित र आकर्षक बनाएको छ । तीर्थस्थलको परिसरमा रहेको यो पुखू धार्मिक एवम् सांस्कृतिक रूपले समेत महŒवपूर्ण पोखरी हो ।
१४. देगमना पुखू

भक्तपुर नगरपालिका वडा नं. ४ देगमना टोलमा अवस्थित यो पोखरी स्थानीय वासिन्दाहरूले दैनिक प्रयोग गरिने धार्मिक र सांस्कृतिक महŒवको पोखरी हो । वंशगोपालबाट बाराही जाने बाटोको देगमना चोकको पूर्वपट्टि अवस्थित यो पोखरी परिसरमा विभिन्न देवी देवताका मूर्तिहरू समेत रहेको यो पोखरी पवित्र पोखरीको रूपमा लिइन्छ ।
१५. तेखा पुखू

भक्तपुर नगरपालिका वडा नं. ३ मा अवस्थित तेखा पुखू एउटा ऐतिहासिक महŒवको पोखरी हो । यस पोखरीलाई तेखाचो पुखू पनि भनिन्छ । पोखरीको बिचमा महादेवको मूर्ति स्थापना गरिएको यो पोखरी धार्मिक महŒवको पवित्र पोखरीको रूपमा लिइन्छ । विगतमा स्थानीय केटाकेटीहरूले पौडी खेल्ने यो पोखरी हाल चारैतिर पर्खाल लगाई संरक्षित रूपमा राखिएको छ । भक्तपुरको बजारको मुख्य बाटोसँगै जोडिएको यो पोखरी पर्यटकीय हिसावले पनि महŒवपूर्ण पोखरीको रूपमा रहेको छ ।
१६. भाज्या पुखू

भक्तपुर नगरपालिका वडा नं. १ दुधपाटी स्थित भाजु पुखू भक्तपुरकै पुरानो पोखरीहरूमध्ये एक हो । मल्लकालीन भारदार भाजुकसले निर्माण गरिएको विश्वासको आधारमा यो पोखरीलाई भाजु पुखू वा भाज्या पुखू नामाकरण गरिएको पाइन्छ । केही समय अगाडिसम्म घाँसे मैदानको रूपमा परिणत भई बिचमा रुख उम्रीएको थुम्को बाँकी भएको यो पोखरीलाई भक्तपुर नगरपालिकाले वि.सं. २०८० सालमा बिचमा मन्दिर निर्माण गरी जीर्णोद्धार सम्पन्न गरिएको छ । हाल यस पोखरीको चारैतिर ३ तहको डिल निर्माण गरी अत्यन्त आकर्षक पोखरीको रूपमा यसलाई विकास गरिएको छ । यो पोखरी आन्तरिक एवम् वाह्य पर्यटकहरूको लागि आकर्षणको रूपमा रहेको छ । यो पोखरीमा हाल रंगीविरंगी मत्स्य पालन गरी पोखरीलाई थप आकर्षक बनाएको छ ।