विद्यार्थी निकेतन कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको भक्तपुर नपामा शैक्षिक अध्ययन भ्रमण
भक्तपुर । २०८२ भदौ ११
भक्तपुर नगरपालिकामा विद्यार्थी निकेतन कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुले आज शैक्षिक अध्ययन भ्रमण ग¥यो ।नगरपालिकाबाट जनतालाई प्रदान गर्दै आएका सेवा सुविधाबारे जानकारी, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणलगायतका क्षेत्रमा नपाका अभ्यासबारे जानकारीलगायतका विषयमा केन्द्रित रहेर विद्यार्थीहरुले भक्तपुरको शैक्षिक अवलोकन गरे ।
विद्यार्थीहरुसँग साक्षात्कार कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाबाट प्रवाह हुने र नपाले विविध क्षेत्रमा गरिरहेका गतिविधिहरुबारे जानकारी दिनुभयो ।
शिक्षाले सामाजिक, बौद्धिक, व्यवहारिक ज्ञानको विकास गर्ने बताउँदै समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यले शैक्षिक क्षेत्रलाई जोड दिँदै आएको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाको जगमा धेरै दक्ष जनशक्ति उत्पादन भइसकेको बताउँदै कलेजबाट उत्तीर्ण विद्यार्थीहरु देशका विभिन्न संघसंस्था तथा निकायमा रही इमानदारीपूर्वक काम गर्दै आइरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरका माध्यमिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउन नपाले आर्थिक तथा भौतिक सहयोग गर्दै आएको र समय समयमा शिक्षकहरुलाई तालिम पनि प्रदान गदै आएको बताउनुभयो ।
भक्तपुरको शैक्षिक नतिजा विगतको तुलनामा उल्लेखनीय सुधार देखिएको बताउँदै उहाँले भक्तपुर नपाले गरिब तथा जेहेनदार विद्यार्थीहरुलाई प्रदान गर्दै आएको शैक्षिण ऋण र छात्रवृत्तिबाट धेरै विद्यार्थीले उच्च शिक्षा अध्ययन गर्ने अवसर पाएको बताउनुभयो ।
हामी अरुको देश बनाउन होइन, आफ्नै देशको विकास गर्न तत्पर रहनुपर्ने धारणा राख्दै प्रमुख प्रजापतिले हातमा सीप भएको व्यक्तिले कहिल्यै अरुको सामु झुक्न नपर्ने र स्वाभिमानीपूर्ण तरिकाले बाँच्न सक्षम हुने बताउनुभयो ।
कार्यक्रममा उपस्थित विद्यार्थी प्रतिनिधिहरुले भक्तपुर नपाको शैक्षिक ऋण, ढल निकास व्यवस्थापन र सरसफाइ, पुरातात्विक नगरमा सम्पदा पुनःनिर्माणका चुनौती, ख्वप विश्वविद्यालयको तयारीलगायतका विषयमा आफ्ना जिज्ञासा राखेका थिए ।
प्रमुख प्रजापतिले विद्यालय प्रतिनिधि शिक्षकलाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।
