चिनियाँ भाषा पठनपाठनबारे नगर प्रमुख प्रजापति र त्रिविवि कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक चाङ्ग सीननियनबीच भेटघाट
भक्तपुर । २०८२ भदौ ९
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक चाङ्ग सीननियनले आज नगरपालिकाको सभाकक्षमा भेट गर्नुभयो । भेटमा उहाँहरुबीच भक्तपुर नगरपालिकामा सञ्चालित शैक्षिक संस्था र त्रिविवि कन्फ्युसियस इन्स्टिच्युटबीच सहकार्य स्थापना र चिनियाँ भाषा पठनपाठन विषयमा छलफल भयो ।
सो क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरका विद्यालय तथा कलेजहरुमा चिनियाँ भाषाका कक्षा सञ्चालन भइरहेको र नगरपालिकाले पनि चिनियाँ भाषालगायत विभिन्न विदेशी भाषाको तालिम सञ्चालन गर्दै आएको बताउनुभयो ।
भक्तपुर भित्रिने पर्यटकमध्ये चिनियाँ पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भइरहेको बताउँदै उहाँले नगरपालिकाले चिनियाँ भाषाका पथप्रर्शकहरुको व्यवस्था पनि गर्दै आइरहेको बताउनुभयो ।
चिनियाँहरुको नेपाल भ्रमणले नेपाली जनताहरुलाई उत्साहित गरेको बताउँदै उहाँले नेपाल र चीनबीच भौतिक रुपमा नजिक भएजस्तै नेपाल मजदुर किसान पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीबीच सिद्धान्त र विचारमा पनि नजिक रहेको बताउनुभयो ।
नेमकिपा समाजवाद स्थापनाको लागि संघर्षरत देशको कम्युनिष्ट पार्टी हो भन्दै उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको कामबाट नेपालले धेरै सिक्न चाहेको विचार राख्नुभयो ।
नेपालका धेरै विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको सिलसिलामा चीनमा रहेको बताउँदै उहाँले नेपाली विद्यार्थीहरुलाई छात्रवृत्रिमा अध्ययन गर्ने अवसर दिएकोमा चिनियाँ सरकारप्रति धन्यवादज्ञापन गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका निर्देशक चाङ्ग सीननियनले नेपालमा सन् २०२२ मा औपचारिक रुपमा उद्घाटन गरिएको त्रिविवि कन्फ्युसियस इन्स्टिच्युट स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै यो संस्थानले दुई देशबीच भाषा र सांस्कृतिक आदानप्रदानमा जोड दिँदै आएको बताउनुभयो ।
दुई देशबीच संस्कृति र पर्यटन आदानप्र्रदानमा पनि सहकार्य गर्न सकिने धारणा व्यक्त गर्दै हाल उक्त इन्स्टिच्युटमा ६ जना चिनियाँ शिक्षकहरु कार्यरत रहेको अवगत गराउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ तथा बागीश्वरी कलेजको स्थलगत अवलोकन गर्नुभएका सीन नियनले भक्तपुरमा चिनियाँ भाषा शिक्षणको राम्रो अवसर छ भन्नुभयो ।
भक्तपुरमा चिनियाँ भाषाको शिक्षालाई अगाडि बढाउन सके दुई देशबीचको कला, संस्कृति र साहित्यलाई पनि सँगसँगै अगाडि बढाउन टेवा पुग्ने बताउँदै उहाँले भक्तपुर नगरपालिकासँग विभिन्न विषयमा सहकार्य गरी अगाडि बढ्न आफूहरु उत्सुक रहेको बताउनुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय कन्फ्युसियस इन्स्टिच्युटका नेपाली पक्ष निर्देशक बलराम दुवाल, चिनियाँ स्वयम्सेवक शिक्षक लुओ चिमेई र चिनियाँ भाषा प्रशिक्षक राजेन्द्र चवालको पनि उपस्थिति रहेको थियो । नगर प्रमुख प्रजापतिले निर्देशक सीन नियनलाई नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।