नेपाल मानवीय सम्मेलन (Nepal Humanitarian Conference) मा सहभागी १४ देशका विदेशीटोलीहरुद्वारा भक्तपुर भ्रमण
भक्तपुर, २०८२।०५।५
World Humanitarian Day 2025 को अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा आयोजना भएको Nepal Humanitarian Conference मा सहभागी हुन नेपाल आएका बाङ्गालादेश, म्यानमार, अफगानिस्तान, पाकीस्तान, इण्डोनेशीया, फिलिपिन्स, कम्बोडिया, फिजि, इटाली, क्यानाडा, भारत, ब्रिटिश, अमेरिका र आइरल्याण्ड लगायतका १४ देशहरुबाट २९ जना विदेशी अतिथिहरुले भक्तपुर भ्रमण गर्नु भयो । उक्त टोलीलाई भक्तपुर नगरपालिका पर्यटन शाखा प्रमुख गौतम प्रसाद लासिवाले भक्तपुर दरबार क्षेत्रमा स्वागत गर्नुभएको थियो । उहाँले २०७२ सालको विनाशकारी भूकम्पबाट भक्तपुरका सम्पदाहरुमा भएको क्षति विवरण जानकारी दिनु भयो । भूकम्प पछी भूकम्प पिडितहरुलाई राहत वितरण गरेको र भक्तपुर नगरपालिकाबाट सम्पदा पुनःनिर्माण तथा संरक्षण गरेकोबारे पाहुनाहरुलाई जानकारी प्रदान गर्नु भयो । उहाँले भक्तपुर नगरपालिकाबाट २०५० साल देखि नै पर्यटन शुल्क संकलन गरि सो रकम यहाँको सम्पदा पुनः निर्माण एवम् संरक्षणमा सदुपयोग गर्दै आइरहेकोबारे पनि प्रकाश पार्नुभयो ।
पाहुनाहरुले भक्तपुरमा २०७२ सालको भूकम्पबाट भएको सम्पदाहरुको क्षति र सो सम्पदाहरुको पुन निर्माणको अवलोकन गर्नु भयो । भक्तपुर नगरपालिकाले आफ्नै स्रोतबाट भक्तपुरका अधिकांश सम्पदाहरु पुनः निर्माण सम्पन्न भएको देखेर पाहुनाहरु निकै उत्साहित भएका थिए र यस कार्यको प्रशंसा पनि गर्नु भयो । ऐतिहासिक नगर भक्तपुरको कला, संस्कृति संरक्षणमा नगरपालिकाको मेहिनतबाट यहाँको सम्पदाहरु जीवित राख्न सफल भएको र भक्तपुर भ्रमण गर्दा यी सम्पदाहरुको प्रत्यक्ष अवलोकनबाट पुरानै समयको अनुभव मिलेको कुरा पनि सो विदेशी टोलीले व्यक्त गरेका थिए ।


