भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीसँग भक्तपुरको शैक्षिक अध्ययन भ्रमणमा आएका एभरेष्ट इंगलिश स्कूलका विद्यार्थीहरुले आज साक्षात्कार गरेका छन् ।

भक्तपुर नगरपालिकाले नपालाई आवश्यक नीति निर्माण गरी त्यसको कार्यान्वयन गर्ने र व्यापक जनताको हितको निम्ति शिक्षा र स्वास्थ्य जस्ता विषयहरु न्यून शुल्कमा सेवा प्रदान गर्दै समाजवादउन्मुख काम गर्दै आएको बताउँदै उहाँले भक्तपुरको औद्योगिक क्षेत्रलाई स्थानान्तरण गर्न आवश्यक पहल गरिरहेको पनि बताउनुभयो ।
भक्तपुर नपाबाट सञ्चालित १०० शैय्याको ख्वप अस्पतालबाट न्युन शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पनि प्रदान गर्दै आएको बताउँदै उपप्रमुख जोशीले नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालनको लागि निरन्तर पहल गर्दै आएको बताउनुभयो ।
नगरभित्र सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न शिक्षक तालिम, भौतिक पूर्वाधार निर्माणमा जोड दिँदै आएको बबताउँदै उहाँले आर्थिक रुपले कमजोर विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि शैक्षिक ऋणको व्यवस्था र युवाहरुलाई स्वरोजगार बनाउन युवा उद्यमशील ऋणको व्यवस्था नपाले गर्दै आएको बताउनुभयो ।
भक्तपुरको कला संस्कृति, सम्पदा संरक्षणको महत्वबारे नयाँ पुस्तालाई जानकारी दिने उद्देशयले नपाले स्थानीय पाठ्यक्रम लागू गरी अध्ययन अध्यापनमा जोड दिँदै आएको सोही क्रममा बताउनुभयो ।
विद्यार्थी प्रतिनिधिहरुले नपाको भावी योजना, नपाका चुनौतीहरु, नागरिकहरुसँगको जनसम्पर्क, सार्वजनिक शौचालयको सुधार र निर्माण, स्थानीय हस्तकला र सम्पदा संरक्षण, ख्वप विश्वविद्यालय सञ्चालनको तयारी आदि विषयमा आफ्नो जिज्ञासा राखेका थिए ।
उपप्रमुख जोशीले विद्यालयको लागि नपाबाट प्रकाशित पुस्तकहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।


