इलामको सुर्योदय नगरपालिका र मोरङको रंगेली नगरपालिकाका जनप्रतिनिधि भक्तपुर नगरपालिकाको अध्ययन भ्रमणमा
२०८२ भदौ २
इलामको सुर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाप्रसाद बराल र मोरङको रंगेली नगरपालिकाका जनप्रतिनिधि सहितको टोलीबाट आज भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण भयो । टोलीले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट गरी दुई नगरपालिकाले शिक्षा, स्वास्थ्य, फोहोर मैला व्यवस्थापन, कृषि, पर्यटन आदि क्षेत्रमा गरिरहेका गतिविधिबारे अनुभव आदानप्रदान ग¥यो ।
नगर प्रमुख प्रजापतिले सुर्योदय नपाका उपप्रमुख बरालसहितको टोलीलाई भादगाउँले टोपी र खादाले सांस्कृतिक नगर भक्तपुरमा स्वागत गर्दै नगरको सांस्कृतिक महत्व, स्वास्थ्य क्षेत्रमा भएका कामहरू, फोहोर व्यवस्थापन र शैक्षिक अवस्था आदिबारे प्रकाश पार्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुरका सम्पदाहरू विदेशको सहयोग विना नै जस्ताको तस्तै पुनःनिर्माण गर्न सक्नुले भक्तपुरको गौरवलाई अझ बढाएको बताउँदै नगरलाई आफ्नै बलबुत्तामा अगाडि बढाउने कोसिस गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले आफै सफाइ मजदुरको व्यवस्था गरी नगरको फोहर व्यवस्थापन गर्दै आएको बताउँदै कुहिने र नकुहिने फोहर अलग अलग संकलन गरी कुहिने फोहरबाट प्रांगारिक मल उत्पादन गरी किसानहरूलाई सस्तोमा मल बिक्री गर्दै आएको र पुनःप्रयोग गर्न सकिने फोहर बिक्री गरी त्यसबाट आयआर्जन पनि गर्दै आएको उहाँले बताउनुभयो ।
भेटमा सुर्योदय नगरपालिकाका उपप्रमुख दुर्गाप्रसाद बरालले भक्तपुरको कार्यसम्पादन अन्य स्थानीय तहको लागि अनुकरणीय भएको बताउँदै यहाँको फोहार व्यवस्थापन र शिक्षा, स्वास्थ्य क्षेत्रमा भइरहेको उल्लेखनीय कार्यबाट सिक्न आफूहरू प्रेरित रहेको बताउनुभयो ।
सुर्योदय नगरपालिकाको संक्षिप्त परिचय प्रस्तुत गर्दै उपप्रमुख बरालले फिक्कल बजार, पञ्चकन्या र कन्याम गाविस मिलाएर २०७१ सालमा यो नगर स्थापना भएकोे बताउँदै यस नगर २५२.५२ वर्गमा फैलिएको, १४ वटा वडामा विभाजित रहेको र ५६ हजार जनसंख्या बसोबास गर्दै आएको जानकारी दिनुभयो ।
सुर्योदय नगरपालिका अलैंची, चिया, आलु, दूधलगायतका नगदे बालीको लागि चर्चित रहेको बताउँदै उहाँले यस नपालाई पर्यटकीय नगरीको रुपमा विकास गर्न प्रयासरत रहेको बताउनुभयो ।
सुर्योदय नगरपालिकालाई पनि नमुना नगरपालिकाको रूपमा अगाडि बढाउन विभिन्न विधामा प्रयत्नरत रहेको बताउँदै उहाँले नपाभित्र दैनिक ८० हजार लिटर दुध उत्पादन हुने गरेको र दुधबाट बनेको उत्पादनलाई बजारीकरणतर्फ पनि जोड दिँदै आएको बताउनुभयो ।
सुर्योदय नपाले दलित छात्राहरूको लागि पूर्ण छात्रवृत्तिमा उच्च शिक्षा अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको र विज्ञान तथा गणित प्रदर्शनीहरू गर्दै प्रयोगशाला निर्माणमा पनि नपाले जोड दिँदै आएको बताउनुभयो ।
त्यस्तै रंगेली नपाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप साहले भक्तपुर नगरपालिकाले संघीयताको असल अभ्यास गरिरहेको बताउँदै देशैभरि भक्तपुरको कामकारबाहीबारे व्यापक चर्चा परिचर्चा हुने गरेको बताउनुभयो । उहाँले रंगेलीको अधिकांश भूभाग खेतीयोग्य जमिन रहेको बताउँदै पर्यटन विकासमा पनि धेरै सम्भावना बोकेको नगर हो भन्नुभयो । अधिकृत साहले रंगेली नपाले किसानहरूलाई निःशुल्क विद्युतको मिटरको व्यवस्था गर्दै आएको र भूमिगत सँगसँगै सतही सिंचाइलाई पनि जोड दिँदै आएको बताउनुभयो ।
रंगेली नपामा ६०० मे.ट. को चिस्यान केन्द्र निर्माण गरेको र आफ्नो पूर्ण स्वामित्वमा नगर अस्पताल पनि सञ्चालन गर्दै निःशुल्क स्वास्थ्य बीमालाई अगाडि बढाउँदै आएको बताउनुभयो । नगरको फोहार व्यवस्थापन चुनौती बन्दै गइरहेकोमा विभिन्न नगरपालिकाहरूले फोहोर व्यवस्थापनमा अपनाउँदै आएको प्रविधि अध्ययन गर्दै नगरको फोहार व्यवस्थापन गर्ने नीति रहेको बताउनुभयो ।
उक्त भेटघाट कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो भने सुर्योदय नपा वडा नं. १० का वडाध्यक्ष पेमा उगेन लामा, रंगेली नपा वडा नं. ७ का वडाध्यक्ष रामचन्द्र मण्डल, कर्मचारीहरू राजकुमार लिम्बु, दिपक तिमिल्सिना, श्रीजन गदाल, कन्सलटेन्ट दिनेश मानन्धर, प्रदेशिक सहयोग कार्यक्रमका सन्जु थापा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । प्रमुख प्रजापतिले टोलीलाई नपाका प्रकाशनहरु उपहारको रुपमा प्रदान गर्नुभयो ।
टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शिशुस्याहार केन्द्र, जनज्योति पुस्तकालय, ख्वप मावि, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप अस्पताल, ख्वप इ. कलेज र ख्वप कलेज अफ इ, लहर्केस्थित फोहोर प्रशोधन केन्द्रमा स्थलगत अवलोकन ग¥यो ।