परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान २०८२’ बारे प्रधानाध्यापकहरुको भेला
२०८२ साउन ३०
भक्तपुर नगरपालिकाको आयोजनामा परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान २०८२’ बारे प्रधानाध्यापकहरुको भेला कार्यक्रम शुक्रबार भनपा सभाहलमा सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी विषयवस्तुको जानकारी दिन स्थलगत अवलोकन भ्रमण गराएर वस्तुस्थितिबारे थाहा दिनुपर्ने बताउनुभयो ।भक्तपुरका अग्रज व्यक्तित्वहरुले देश र समाजको लागि गरेको योगदानबारे नयाँ पुस्तालाई जानकारी दिने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण गरिएको बताउँदै उहाँले स्थानीय पाठ्यक्रम समयानुकूल परिमार्जन गर्दै जानुपर्ने धारणा राख्नुभयो ।
भक्तपुरको यस वर्षको एसईई नतिजा तुलनात्मक रुपमा प्रगतिउन्मुख भएको बताउँदै उहाँले भक्तपुर नपाले गुणस्तरमा प्रतिस्पर्धाको नीतिले गर्दा भक्तपुरको शैक्षिक नतिजामा उल्लेख्य वृद्धि भएको बताउनुभयो ।
भक्तपुरको शैक्षिक विकासमा सामुदायिक र निजी विद्यालयहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै उहाँले सय भन्दा कम विद्यार्थी भएका विद्यालय ‘मर्ज’ गर्ने सरकारको नीतिले विद्यालयहरुको संख्या घट्दै जाने बताउनुभयो ।
२०४८ सालपश्चात कुनै पनि सामुदायिक विद्यालय दर्ता नहुनु र भएकालाई पनि मर्ज गर्ने नीति ल्याउनु सरकार आफ्नो जिम्मेवारीबाट भाग्न खोज्दैछ भन्ने प्रष्ट भएको उहाँले बताउनुभयो ।
दक्ष जनशक्तिहरु नेपालबाट विदेशिँदै गर्दा नेपालमा राम्रा राम्रा शिक्षकहरु अभाव हुने निश्चित भएको बताउँदै उहाँले जस्तोसुकै विद्यार्थीलाई योग्य बनाउने साझा जिम्मेवारी शिक्षकहरुको हो भन्नुभयो ।
कार्यक्रमका सभापति ख्वपको पहिचान परिमार्जन समितिका संयोजक योगेन्द्रमान बिजुक्छेँले हरेक पाठ्यक्रम निर्माण पश्चात पाँच वर्षमा परिमार्जन र दशबर्ष पश्चात परिवर्तन गरिनुपर्ने अन्र्तराष्ट्रिय मान्यता रहेको बताउँदै परिमार्जित स्थानीय पाठ्यक्रम चाडै नै उपलब्ध गराइने जानकारी गराउनुभयो ।स्थानीय पाठ्यक्रम परिमार्जन कार्यदल समितिका सदस्य सिद्धिरत्न शाक्यले परिमार्जित पाठ्यक्रमका केही विशेषतामाथि प्रकाश पार्दै शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा सरोकारवालालगायतको रचनात्मक सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरेको बताउनुभयो ।
सामुदायिक विद्यालयको तर्फबाट गणेश माविका प्रअ गणेशराम थुसाले स्थानीय पाठ्यक्रममा स्थानीय विद्यार्थीको भन्दा गैरस्थानीय विद्यार्थीको रुचि र आकर्षण बढी रहेको बताउँदै पाठ्यक्रम अध्यापन गराउने शिक्षकहरुलाई समयसापेक्ष ढंगले अभिमुखीकरण कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताउनुभयो ।
आधारभूत विद्यालयको तर्फबाट प्रअ दिपक माकले राष्ट्रिय पाठ्यक्रममा नसमेटिएका महत्वपूर्ण विषयहरुलाई पनि भक्तपुर नपाको स्थानीय पाठ्यक्रममा समेटिनुपर्ने बताउनुभयो ।
निजी विद्यालयका प्रतिनिधि प्यारागण एकेडेमीका प्रिन्सिपल पुन्यराम कवांले स्थानीय पाठ्यक्रम सन्दर्भ सामाग्रीहरु सबै तहका लागि छुट्टा छुट्टै बनाउनु उपयुक्त हुने बताउनुभयो ।
कार्यक्रममा भनपा शिक्षा शाखा प्रमुख साधुराम फुँयाल र स्थानीय पाठ्यक्रम परिमार्जन कार्यदल समितिका सदस्य रोशनराज तुईतुईले पाठ्यक्रम पनि बोल्नुभएको थियो ।
