शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मनायो विश्व अंगदान दिवस
भक्तपुर । २०८२ साउन २८
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आज विश्व अंगदान दिवस मनायो ।
कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पौडेलले मस्तिष्क मृत्युपछि गरिने अंगदानलाई प्रोत्साहन गर्न खोजिरहेको बताउँदै अंगदानले धेरैको ज्यान बचाउन सघाउ पु¥याउने हुँदा यसबारे जनतालाई सचेत बनाउनुपर्ने बताउनुभयो ।


मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रलाई सस्तो, गुणस्तरीय र विश्वसनीय बनाउने प्रयासमा जुटेको बताउँदै भक्तपुर स्वास्थ्य उपचारको हबको रुपमा विकास भइरहेको र अझ प्रगतिउन्मुख भएर लाग्न प्रेरित गर्नुभयो ।
प्रत्यारोपणको विषयलाई पनि स्वास्थ्य बीमासँग जोड्दै लाने योजना रहेको तर यस्तै हिसाबले भए बीमा सेवा सञ्चालन गर्न नसक्ने, आफै बन्द हुने बताउँदै उहाँले विभिन्न अस्पतालमा क्यान्सर परीक्षणका लागि आवश्यक पर्ने पेट सिटी स्क्यान मेसिनहरू विस्तार गर्दै लगिने बताउनुभयो ।

गरिबीका कारण मानव अंग बेचबिखन हुने स्थितिलाई अन्त्य गर्नुपर्नेतर्फ जोड दिँदै उहाँले स्वास्थ्य संस्थाहरूको लागि आवश्यक विभिन्न पदका कर्मचारीहरूको पदपूर्तिको लागि यथाशक्य छिटो विज्ञापन खोल्नेतर्फ स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
अंगदान आफैमा एउटा मानव धर्म र सेवासँग जोखिएको विषय हो भन्दै उहाँले मस्तिष्क मृत्युपश्चात हुने अंगदानबारे व्यापक जनतालाई सचेत पार्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले भक्तपुरको प्रत्यारोपण केन्द्रमा बिरामीको चाप बढेसँगै शैय्या अभाव र सेवा विस्तारले ठाउँ अभाव भएको हुँदा अस्पताललाई उपयुक्त ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताउनुभयो ।

स्वास्थ्य क्षेत्र सरकारको दायित्व हो भन्दै उहाँले स्वास्थ्य बीमा सेवालाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको अग्रसरता आवश्यक भएको बताउनुभयो ।
नपाद्वारा सञ्चालित ख्वप अस्पतालले वार्षिक २ लाख ८० हजार बिरामीलाई सेवा प्रदान गरेको बताउँदै उहाँले हालसम्म २५ करोडभन्दा बढी बीमाको भुक्तानी बाँकी रहेको कारण अस्पताल सञ्चालनमा समस्या आएको बताउनुभयो ।
उहाँले हाल घोषणा गरेबमोजिम एक लाखको बीमा व्यवस्थित नभएको अवस्थामा ५ लाखको बीमा सुविधा दिने मन्त्रीको घोषणा चर्चामै सीमित रहेको उल्लेख गर्नुभयो ।
अस्पतालका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले नेपालमा कलेजो र मृगौला प्रत्यारोपण सेवाको सुरुवात भएसँगै बिरामीहरूलाई आर्थिक र मानसिक रुपमा
धेरै सहज भएको बताउँदै प्रत्यारोपण सेवालाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य अस्पतालको रहेको बताउनुभयो ।
कार्यक्रममा प्र्रत्यारोपणका संयोजक डा. कल्पनाकुमारी श्रेष्ठले स्वागत गर्नुुभएको थियो भने अंगदाता र अंग ग्रहणकर्ता प्रतिनिधिले पनि बोल्नुभएको थियो ।