Explore news and happenings at Bhaktapur

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी (सहसचिव) हरु भक्तपुर नगरपालिका अध्ययन भ्रमणमा

भक्तपुर । २०८२ साउन १८

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका सहसचिवस्तरका प्रशिक्षार्थीहरुको टोलीबीच ‘परिवर्तनको लागि नेतत्वको भूमिका ः स्थानीय सरकारसँग साक्षात्कार’ विषयमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै उहाँले भक्तपुर नपाका जनप्रतिनिधिहरूले निर्वाचनमा जारी गरेको पार्टीको घोषणापत्रमार्फत जनतालाई दिएको वचन एक एक गरी पूरा गर्दै अगाडि बढिरहेको बताउनुभयो ।
शिक्षा क्षेत्रअन्तर्गत भक्तपुर नपाले रु. ५ लाखसम्म शैक्षिक ऋण, वार्षिक करोडौं रकम बराबरको छात्रवृत्ति प्रदान, भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषा, अर्थशास्त्रलगायतका विषयमा उच्च शिक्षा हासिल गर्न पी. एच. डी. सम्मका विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गर्दै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, खेलकुद, सम्पदा संरक्षणलगायतका क्षेत्रमा गरिरहेका उपलब्धीमूलक कार्यहरुबारे अवगत गराउँदै उहाँले सांस्कृतिक र पुरातात्विक सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा विदेशी सहयोग लिन नहुने विचार व्यक्त गर्नुभयो ।
नगरपालिकाबाट दैनिक सेवा प्रवाहअन्तर्गत गरिने अधिकांश कामहरु वडा तहबाट नै सम्पन्न हुने गरी आवश्यक व्यवस्था गरिएको बताउँदै उहाँले भक्तपुर नपाले स्थानीय जनतालाई सक्षम बनाई स्वायत्तताको अभ्यास गरिरहेको बताए ।
टोली सदस्यहरुको जिज्ञासाबारे प्रष्ट पार्दै प्रमुख प्रजापतिले प्रदेशहरुले जनताको हितमा योजनाबद्ध कामलाई अगाडि बढाउन नसक्दा प्रदेशको औचित्य माथि नै प्रश्न उठिरहेको बताउँदै पालिकास्तरबाट हुने कतिपय स—साना विकास निर्माणका काम समेत प्रदेश र संघले गर्न खोज्नु संघीय भावना विपरीत भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कर्मचारीको सरुवा, बढुवा र भर्नाको अधिकार स्थानीय तहबाट खोसिएको छ । स्थानीय तह आफैले कर्मचारी भर्ना गर्न नपाउने अवस्थामा स्थानीय तह बलियो र अधिकार सम्पन्न हुन गा¥हो छ ।’
सोही क्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले उपभोक्ता समिति र ठेकेदारबाट हुने कार्य भिन्नताबारे प्रष्ट पार्दै नगरपालिकाले युवाहरुलाई लक्षित गरेर सघन रुपमा सीपमूलक तालिमहरु सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले क्षेत्रफलको हिसाबमा देशकैै सानो नगरपालिका भएर पनि भक्तपुर नपाले धेरै अनुकरणीय कामहरु गरेको बताउनुभयो ।
टोलीमा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक डा. अर्चना श्रेष्ठ, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक चक्रपाणी पाण्डे, सहसचिव अस्यान तामाङ, कृषि तथा पशुपछी विकास मन्त्रालय प्रदेश सचिव अमृत श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका प्रदेश सचिव नवराज ढकाल, कर्णाली प्रदेश सचिव इन्द्रदेव भट्टको उपस्थिति थियो । उहाँहरुले नगरपालिकाको सेवा प्रवाह, कार्य सम्पादन, संघ र प्रदेश सरकारसँगको समन्वय, उपभोक्ता मोडल, जग्गा वर्गीकरण, सीप परीक्षण विधि, फोहोर व्यवस्थापन, आर्थिक अनुशासनको विधि आदि विषयमा जिज्ञासा राख्नुभएको थियो ।
अध्ययन भ्रमणको क्रममा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका सहसचिवस्तरका प्रशिक्षार्थीहरुको टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरु ख्वप मावि, ख्वप कलेज, ख्वप कलेज अफ ल, ख्वप इ. कलेज र ख्वप कलेज अफ ल, ख्वप अस्पताल, जनज्योति पुस्तकालय, शिशुस्याहार केन्द्रलगायतको स्थलगत अवलोकन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.