गाईजात्रा पर्व (सापारु) २०८२ को तयारीमा संस्कृतिकर्मीहरूको भेला
भक्तपुर, २०८२ साउन १५ गते, बिहीबार
भक्तपुर नगरपालिकाको आयोजनामा २०८२ सालको गाईजात्रा पर्व (सापारु) मा प्रदर्शन हुने परम्परागत तथा आधुनिक सांस्कृतिक विधाहरूको प्रतियोगिताको तयारीस्वरुप आज संस्कृतिकर्मीहरूको भेला सम्पन्न भयो ।
नगरका दाफा, भजन, सांस्कृतिक टोलीलगायतको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गाईजात्रा पर्व भक्तपुरको सांस्कृतिक प्रदर्शनीहरु प्रदर्शन गर्ने राम्रो अवसर हो भन्दै जात्रालाई व्यवस्थित र मर्यादित रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताउनुभयो ।
गाईजात्रामा प्रदर्शन हुने घिन्ताङघिसी भक्तपुरको प्रमुख विशेषताको रुपमा रहेको हुँदा नयाँ पुस्तालाई भक्तपुरको कला संस्कृतिमा उत्साहित गर्न संस्कृतिकर्मीहरुको विशेष योगदान रहने उहाँले बताउनुभयो ।
आधुनिक र परम्परागत विधालाई सँगसँगै अगाडि बढाउन सांस्कृतिक प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले भक्तपुर नपाले विद्यालयस्तरबाटै विद्यार्थीहरुलाई यहाँको कला संस्कृति अध्ययन अध्यापन गराउने व्यवस्था पनि गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नपाले सापारुको दिन घिन्ताङघिसी र माक प्याखँ तथा कृष्णाष्टमीसम्म परम्परागत एवम् आधुनिक विधाका सांस्कृतिक प्रस्तुतीकरणको मूल्यांकन गरी पुरस्कृत गर्ने भएको हुँदा सांस्कृतिक समूह र संस्कृतिकर्मीहरुले भक्तपुर नपा र वडा कार्यालयहरुमा सांस्कृतिक विधाहरु दर्ता गर्न अनुरोध गर्नभयो ।
कार्यक्रममा विभिन्न विधाका संस्कृतिकर्मीहरूले गाईजात्रालाई सभ्य र सुसंस्कृत बनाउन सबैको संयुक्त पहल आवश्यक भएको बताउँदै भक्तपुर नपाका सकारात्मक कदममा सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।



