Explore news and happenings at Bhaktapur

स्थानीय स्वायत्तता र विकेन्द्रीकरणसम्बन्धी प्रवचन तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न

२०८२ साउन १३ गते, मंगलबार

0
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले सार्वजनिक पद धारणा गर्ने व्यक्तिहरु इमानदार र सक्षम हुनुपर्ने बताउँदै कुनै व्यक्तिलाई पदले योग्य बनाउने नभई उसको अध्ययन र लगनशीलता योग्य र सफल बनाउने बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजनामा ‘स्थानीय स्वायत्तता र विकेन्द्रीकरणसम्बन्धी प्रवचन तथा मार्गनिर्देशन कार्यक्रममा बोल्दै उहाँले नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश भएकोले संघ राज्यको आवश्यकता जात–जाति र भाषाभाषीको आधारमा हुनु जरुरी रहेको बताउनुभयो ।
शासक दलका नेताहरुले व्यापक जनताको हितलाई भन्दा पनि आफू र आफ्ना नाता–गोतालाई कसरी र कुन पदमा रोजगारी दिनेजस्ता निकृष्ट सोच राखेर काम गर्दा देश आर्थिक, राजनीतिक र सामाजिक रुपमा पछाडि परिरहेको बताउँदै उहाँले जनताको सचेतनाले मात्र देशलाई सही दिशातर्फ मार्गनिर्देश गर्ने बताउनुभयो ।
प्रजातन्त्र र गणतन्त्रको जगको रुपमा रहेको स्थानीय तहलाई बलियो र सक्षम बनाउन संघ, प्रदेश र स्थानीय तहले समन्वयकारी भूमिकामा काम गर्नुपर्नेमा जोड दिँदै राजनीतिक पार्टीहरुले आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षित नगर्नुको कारण देश जटिल अवस्थामा फस्दै गएको बताउँदै यसमा शासक दल जिम्मेवार भएको बताउनुभयो ।
२०४६ सालको आन्दोलनपछि पुराना भ्रष्ट कर्मचारीहरुलाई बर्खास्त नगरेको कारण अहिलेसम्म त्यही व्यवस्थाको सिलसिला अगाडि बढिरहेको बताउँदै उहाँले राजनीतिक नेता कार्यकर्ताहरुलाई बौद्धिक रुपमा सक्षम र योग्य बनाउनु आवश्यक भएको बताउनुभयो ।
कानुनमात्र भनेर बस्नुहुँदैन, देश र जनताको अहित हुने कार्यमा कर्मचारीहरुले समर्थन गर्न नहुने बताउँदै उहाँले जनप्रतिनिधिलाई ऐन, कानुन र अधिकारबारे प्रष्ट पार्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशमा संघीयता कार्यान्वयनमा आएको आठ वर्ष भइसक्दा पनि जनताबीच प्रभावकारी काम गर्न नसक्दा संघीयता विरोधी आवाजहरु उठिरहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले स्थानीय स्वायत्त शासन ऐन २०५५ ले स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृत बाहेक अन्य सबै तहका कर्मचारी स्थायी, अस्थायी, करारमा नियुक्ति गर्ने, बढुवा गर्ने अधिकार दिए पनि अहिले ती सबै अधिकार खोसेर प्रदेश सरकारमा पुर्याइएको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले स्वायत्तताको अभ्यास गरिरहेको बताउँदै कर्मचारीको योग्यता र क्षमता विकासले जनताको सेवा प्रवाहमा गतिशीलता थप्ने हुँदा अध्ययन अध्यापनमा जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपा स्वायत्तता र विकेन्द्रीकरणको असल अभ्यास गर्दै आएको क्षेत्रफलको हिसाबले देशकै सानो नगरपालिका भए पनि उदाहरणीय काम गर्न सफल भएको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाको विकासमा नेमकिपाका अग्रजहरुको सहयोग र मार्गनिर्देशनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै भक्तपुरलाई सभ्य र सुसंस्कृत नगरको रुपमा अगाडि बढाउन प्रयत्नरत रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्थानीय स्रोत साधनको सही सदुपयोग र परिचालनले स्थानीय तहको स्वायत्तता बलियो हुने बताउँदै नेपालको संविधानले दिएको अधिकारलाई पनि कानुनले बाधा पुर्याउँदा कार्यसम्पादनमा समस्या निम्तिने गरेको बताउनुभयो ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगर समितिका अध्यक्ष गौतमप्रसाद लासिवाले स्थानीय तहका कर्मचारीहरुमा स्थानीय स्वायत्तताको बारे राम्रो अध्ययन र जानकारी हुनु आवश्यक भएको बताउनुभयो ।
स्थानीय तहमा कार्यरत कर्मचारीको कार्य सम्पादन मूल्यांकन गरी पुरस्कार र दण्ड सजायको अधिकार स्थानीय तहको एकल अधिकार भए पनि प्रदेश सरकारले संघीयता, स्थानीय स्वायत्तता र विकेन्द्रीकरणको भावनाविपरीत
स्थानीय तहलाई आफ्नो मातहतमा राख्ने, एकात्मक र पञ्चायती शैलीमा खतनमा राख्ने उद्देश्यका साथ कानुन निर्माण गरी स्थानीय तहहरुलाई कमजोर बनाउने प्रयास गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका कानुन अधिकृत गणेशलाल फोँजुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने समितिका सहसचिव विकास प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.