Explore news and happenings at Bhaktapur

ख्वप अस्पतालमा धुलिखेल अस्पतालका चिकित्सकहरुको टोलीद्वारा अवलोकन

भक्तपुर । २०८२ साउन ८

0
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा धुलिखेल अस्पतालका चिकित्सकहरुको टोलीले आज अवलोकन भ्रमण ग¥यो । अस्पतालको स्वास्थ्य सेवाको अवस्थाबारे जानकारी लिने उद्देश्यले टोलीका सदस्यहरुले ख्वप अस्पतालका सबै विभागहरुको स्थलगत अवलोकन गरेका हुन् ।
  अवलोकनपश्चात आयोजित बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पतालले दैनिक एक हजारभन्दा बढी बिरामीहरुलाई उपचार सेवा दिँदै आएको बताउँदै जनताको सहयोगमा निर्मित ख्वप अस्पताले जनतालाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले नगरपालिकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्यहरुमा धुलिखेल अस्पतालसँग पनि सहकार्य गर्दै अगाडि बढ्न सकिने धारणा व्यक्त गर्नुभयो ।
नसर्ने रोगको पहिचान गर्न र नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी हासिल गर्न घरदैलौ नर्सिङ सेवा प्रभावकारी रहेको बताउँदै उहाँले विरामीहरूलाई सहजता र स्वास्थ्य सेवामा थप सुविधा प्रदान गर्न आवश्यक पहल गरिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नगरबासीहरूलाई निःशुल्क अक्सिजन र निःशुल्क रगत प्रदान गर्दै आएको बताउँदै उहाँले हरेक वर्ष नयाँ नयाँ स्वास्थ्य उपचारका सेवाहरु विस्तार गर्ने नीतिअनुसार अस्पताल अगाडि बढिरहेको बताउनुभयो ।
बैठकमा धुलिखेल अस्पतालका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. आभा श्रेष्ठले भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पताल निकै सुविधासम्पन्न रहेको बताउँदै अस्पतालको सेवा सुविधाहरुबाट प्रभावित भएको बताउनुभयो ।
धुलिखेल र ख्वप अस्पतालबीच सहकार्य गरेर अगाडि बढ्न तत्पर रहेको बताउँदै डा. श्रेष्ठले ख्वप अस्पतालको प्रसुती सेवा निकै प्रभावकारी रुपमा सञ्चालनमा आएको बताउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्ले अस्पतालको सेवा सुविधा र आ.व. २०८१।८२ मा अस्पतालले प्रवाह गरेको सेवा र आगामी योजनाबारे प्रस्तुतीकरण देखाउनुभयो । उहाँले ख्वप अस्पताल ३६५ दिन सञ्चालन हुने र दैनिक ११ घण्टा ओपीडी सेवा दिने अस्पताल भएको बताउँदै आ.व. २०८१।८२ मा २ लाख ८८ हजारभन्दा बढी बिरामीलाई सेवा दिएको जानकारी दिनुभयो ।
ख्वप अस्पताल अवलोकन भ्रमणमा धुलिखेल अस्पतालका डा. पुष्पाञ्जली
अधिकारी, नर्सिङ निर्देशक डा. सुलेखा श्रेष्ठ, जनसम्पर्क अधिकृत डा. आभा श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । टोलीले ख्वप अस्पतालका ओपडी सेवाहरू, अक्सिजन प्लान्ट, आकस्मिक कक्ष, नर्सिङ कलेज, छात्ती पुनःस्थापना केन्द्र, अस्पतालको औषधालय, ल्याब, ख्वप तीलगंगा आँखा अस्पताल, ब्रम्हायणीस्थित अन्तरंग सेवा, आईसियु, श्वासप्रश्वास पुनःस्थापना केन्द्रलगायतमा अवलोकन गर्नुभयो ।
यसअघि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको नेतृत्वमा ख्वप अस्पतालका प्रतिनिधिमण्डलसहित २०८२ असार १७ गते धुलिखेल अस्पतालको स्थलगत अवलोकन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.