ख्वप अस्पतालमा असार १ गतेबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम लागू हुने
भक्तपुर । २०८२ जेठ ३०
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालको प्रसुती सेवा थप सहजताको लागि २०८२ असार १ गतेबाट आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम कार्यान्वयन हुने भएको छ ।
ख्वप अस्पतालमा आज आयोजित एक कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले ख्वप अस्पतालमा ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ प्रभावकारी रुपमा सञ्चालन गर्न प्रेरित गर्दै यो कार्यक्रम ख्वप अस्पतालमा लागू भएपछि धेरै सुत्केरी महिलाहरु लाभान्वित हुने र शिशुको मृत्यु दर पनि कम हुने विश्वास व्यक्त गर्नुभयो ।
महिलाहरुको समस्या समाधानको लागि भक्तपुर नगरपालिकाले शिशुस्याहार केन्द्र सञ्चालन गर्दै आएको बताउँदै उहाँले नगरको सबै वडाहरुमा शिशुस्याकार केन्द्र सञ्चालन गर्न नगरपालिकाले जोड दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले नगरका विद्यालयहरुमा डाक्टरसहितको स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै विद्यालय तहदेखि स्वास्थ्यमा सचेत पार्न सके भविष्यमा हुन सक्ने जोखिमहरु कम हुने उहाँले बताउनुभयो । विद्यार्थीहरुमा सेवा गर्ने भावनाको विकास विद्यालय तहदेखि नै सिकाउनुपर्ने विषयमा उहाँले जोड दिनुभयो ।

प्रमुख प्रजापतिले ख्वप अस्पतालमा आमा तथा नवजात शिशु सुरक्षा सेवा सञ्चालन प्रभावकारी ढ·ले अगाडि बढाइने बताउँदै भक्तपुर नगरपालिकाले आगामी आ.व.देखि ख्वप अस्पतालमा सीटी स्क्यानको सेवा सुरु गर्न खरिदको प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो ।
युवा जनशक्ति विदेशिएसँगै राज्यको खरबौं रकम पनि विदेशिरहेको बताउँदै उहाँले राज्यको विदेशनिर्भर अर्थनीतिले देशलाई कहिल्यै पनि आत्मनिर्भर बनाउन नदिने बताउनुभयो ।
ख्वप अस्पतालले आफ्नो क्षमताले भ्याएसम्म स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था गरिरहेको बताउँदै उहाँले बढ्दो महँगीका कारण गरिबले निजी अस्पतालमा उपचार गराउनै नसक्ने हुँदा सरकारी स्वास्थ्य सेवालाई नै सस्तो र गुणस्तरीय बनाउने उद्देश्यले सेवाहरु विस्तार गर्दै आएको
बताउनुभयो ।


कार्यक्रममा भक्तपुर नगरपालिका स्वास्थ्य शाखा संयोजक डा. रत्नसुन्दर लासिवाले नेपाल सरकारको ‘आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम’ को उद्देश्यमाथि प्रष्ट पार्नुभएको थियो ।
