नगर प्रमुख प्रजापतिसँग बालविकास इंगलिश स्कूलका विद्यार्थीको साक्षात्कार
भक्तपुर । २०८२ जेठ १९
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सिकाइको जग प्रारम्भिक शिक्षादेखि नै बलियो बनाउनुपर्ने बताउँदै शिक्षाविना समाजको विकास सम्भव नभएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिसँग सोमबार भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित बालविकास इंगलिश स्कूलमा कक्षा ९ र १० मा अध्ययरत विद्यार्थीको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले भक्तपुर नगरपालिकाले सञ्चालन गरेका कलेजहरुसँगै भक्तपुरमा सञ्चालित अधिकांश सामुदायिक विद्यालयहरुको शैक्षिक स्तरमा विगतको तुलनामा निकै सुधार भएको बताउनुभयो ।
२०३६।३७ सालतिर भक्तपुरको शिक्षा निकै कमजोर अवस्थामा रहेको र त्यसबेला चिट चोरेर पास गर्नुलाई सामान्य रुपमा लिइने बताउँदै २०३६ सालमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहित १० वर्षको भारत प्रवासबाट नेपाल फर्केपश्चात लामो प्रयासपछि भक्तपुरका विद्यालयहरुमा चोरी गर्ने काम समाप्त भएको र गुणस्तरीय शिक्षाको लागि प्रतिस्पर्धा चलेकै कारण आजको गुणस्तरीय शिक्षा सम्भव भएको बताउनुभयो ।
२०५६ सालमा का. रोहितले भक्तपुरलाई १५ वर्षभित्र भक्तपुरमा ‘एक घर एक स्नातक’ बनाउने घोषणा आज सार्थक बनिसकेको बताउँदै नेतृत्व गर्नेहरुले सुधार गर्न चाहे देश र समाजमा सकारात्मक परिवर्तन सम्भव छ भन्ने एउटा दरिलो उदाहरण भक्तपुरले प्रस्तुत गरेको उहाँले बताउनुभयो ।
भक्तपुरको शैक्षिक स्थिति आजको अवस्थासम्म ल्याइपु¥याउन यहाँका अगुवाहरुको महत्वपूर्ण योगदान रहेको बताउँदै उच्च शिक्षा प्रदान गर्ने कलेज र विश्वविद्यालयले शैक्षिक गुणस्तरमा वृद्धि नगरेसम्म देश छोडेर विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई रोक्न नसकिने प्रमुख प्रजापतिले प्रष्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले शिक्षा सँगसँगै यहाँको स्वास्थ्य, खेलकुद, विकास निर्माण, सरसफाइलगायत समग्र नगरको सन्तुलित विकासमा जोड दिँदै आएको बताउँदै भक्तपुरको शिक्षालाई मोडलको रुपमा लिएर विभिन्न नगरपालिकाका जनप्रतिनिधिले आआफ्नो पालिकामा यस्तै प्रकारको कलेजहरु सञ्चालन गरिसकेको र गर्ने प्रतिक्रिया पाएको र यो भक्तपुरबासीहरुको लागि गौरवको विषय हो भन्नुभयो ।
कार्यक्रममा बालविकास इ. स्कूलका विद्यार्थीहरुले स्थानीय पाठ्यक्रम र पाठ्यपुस्तक, नपाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालय, नगर प्रमुखको राजनीतिक जीवन र भोगाई, भक्तपुर नपालाई भ्रष्टाचारमुक्त नगर बनाउन सक्नुका आधार, विद्यालय शिक्षा सुधारमा भक्तपुर नपाका नयाँ कामहरु, सडक सुरक्षा, विद्यालयहरुमा छिकोङ खेल व्यवस्था, सांस्कृतिक गुरुहरुलाई बाजा सिकाउन विद्यालयहरुमा पठाउन नपाको योजना, ख्वप अस्पतालमार्फत नगरका विद्यालयहरुमा स्वास्थ्य परीक्षण कार्यक्रमलगायतका विषयमा आ–आफ्नो जिज्ञासा राखेका थिए ।
तत्पश्चात प्रमुख प्रजापति र शिक्षक–विद्यार्थीहरुबीच मायाको चिनो र नपाका प्रकाशनहरु आदानप्रदान भएको थियो ।