देशको सार्वभौमिकता कमजोर हुँदा अन्तर्राष्ट्रिय जगतमा नागरिकहरुको प्रतिष्ठा पनि गुम्ने
भक्तपुर । २०८२ वैशाख २९
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले देशको सार्वभौमिकता कमजोर हुँदा अन्तर्राष्ट्रिय जगतमा नागरिकहरुको प्रतिष्ठा पनि गुम्ने खतरा बढ्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालमा कार्यरत चिकित्सकहरुसँगको भेटघाट तथा मार्गनिर्देश्न कार्यक्रममा बोल्दै सांसद सुवालले शासक दलका गलत क्रियाकलाप र भ्रष्टाचारको कारण अन्तर्राष्ट्रिय समुदायमा नेपालको उपस्थिति कमजोर बनेको र त्यसले गर्दा नेपालको पासपोर्टलाई समेत तल्लो दर्जा दिइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, नेपाल सरकारले गौतम बुद्ध नेपालमा जन्मेका हुने भनेर ऐतिासिक तथा प्रमाणसहित पेश नगर्दा अहिले पनि विभिन्न देशमा बुद्ध नेपालमा नभई भारतमा जन्मेका हुन् भनी प्रचार गरिएको छ । यो गलत हो र सरकारमार्फत तत्काल सच्याइनुपर्छ ।
सांसद सुवालले शिक्षा र स्वास्थ्य उपचार सेवा हरेक नागरिकको नैसर्गिक अधिकार हुनुपर्नेमा नेपालमा सबैभन्दा महँगो सेवा नै स्वास्थ्य उपचार बनेको उल्लेख गर्दै स्वास्थ्य विज्ञान र स्वास्थ्य उपचार सेवामा चिकित्सकहरुले भोगेका समस्याहरुबारे जनप्रतिनिधिहरुलाई जानकारी भएमा संसद र सम्बन्धित ठाउँमा समाधानका लागि पुर्याउन सकिने प्रष्ट पार्नुभयो ।
भक्तपुर नगरपालिका पञ्चायतकालदेखि नै जनस्वास्थ्य केन्द्र स्थापना गरेर जनतालाई उपचार सेवा प्रदान गरिरहेको र हाल ख्वप अस्पतालको रुपमा विकास भएको इतिहासबारे चर्चा गर्दै उहाँले सुरुवाती चरणदेखि सेवा गर्ने अग्रज चिकित्सकहरुको नाम सूचिकृत गर्न र कार्यरत चिकित्सकहरुलाई नियमित रुपमा विशेषज्ञहरुबाट अभिमुखीकरण गर्न सुझाव पनि दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् अस्पताल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले भक्तपुरलाई स्वास्थ्य उपचारका लागि देशकै गन्तव्य बनाउने लक्ष्यसहित स्वास्थ्य उपचार सेवालाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो ।
उहाँले नेपाल मजदुर किसान पार्टीको मार्गनिर्देशनमा समाजवादी विचारबाट प्रभावित हुँदै ख्वप अस्पताललाई जनताको अस्पताल बनाउने दिशामा लागिरहेको चर्चा गर्दै भन्नुभयो, अन्य अस्पतालभन्दा विशेष सुविधा दिने उद्देश्यले ख्वप अस्पतालमा ३६५ दिन नै बिहान ७ बजेदेखि बेलुकी ६ बजेसम्म सेवा सञ्चालन गरेको, निःशुल्क अक्सिजन तथा रगत सेवा प्रदान गरेको, घरदैलो नर्स सेवा सञ्चालन गरेको र स्वास्थ्य परीक्षण शिविरहरु समुदायस्तरमा चलाइरहेको हो ।
प्रमुख प्रजापतिले समाजको सेवा गर्ने उद्देश्यले सामूहिक भावना बोकेर बिरामीको उपचार सेवामा लाग्न चिकित्सकहरुलाई उत्साहित गर्नुभ्यो ।
कार्यक्रममा अस्पताल सञ्चालक समितिका सदस्य रविन्द्र ज्याख्व, नि. मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्ल र डा. रत्नसुन्दर लासिवाले पनि बोल्नुभयो ।