२०८२ असार ६ गतेबाट सुरु भएको भक्तपुर नगरपालिकाको अठारौंँ नगरसभा असार २३ गते सोमबार सम्पन्न भयो ।
नगरसभाका सभाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगरसभाको आजको बैठकले भक्तपुर नगरपालिकाको लेखा समितिको प्रतिवेदन, २०८२ सर्वसम्मतिले पारित ग¥यो । साथै बैठकले न्यायिक समितिको प्रतिवेदन र नगरपालिकाका कर्मचारीहरुको तलबी प्रतिवेदन, भक्तपुर नपाको वार्षिक खरिद योजनालगायत विविध प्रस्तावहरु पनि पारित ग¥यो ।
सभामार्फत सभाध्यक्ष प्रजापतिले १८ औं नगरसभा उद्घाटन समारोहका प्रमुख अतिथि, विशेष अतिथि, अतिथि गण, बुद्धिजीवी, सञ्चारकर्मी, कर्मचारी, नगरबासीलगायतमा नगरसभा सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्याउनुहुने सभासद्हरुलाई समेत धन्यवादज्ञापन गर्नुभयो ।
सभाको विशेष समयमा सभासद् विष्णुकेशरी दुवालले भ्रष्टाचारविरोधी आन्दोलन असार १९ र साउन २ गतेकोबारे चर्चा गर्दै भ्रष्टाचारको विरोध गर्नुभयो । सभासद् रामसुन्दर बासीले न्याकीं देग शीघ्र सम्पन्न गर्न आवश्यक पर्याप्त बजेट विनियोजन गर्नुपर्ने र हरियाली व्यवस्थापन गर्न दक्ष जनशक्ति परिचालन गर्नुपर्ने, सभासद् गंगालक्ष्मी बमनूले भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पतालमा पार्किङ व्यवस्थापन गर्नुपर्ने र प्रदूषण फैलाउने उद्योग स्थानान्तरणको लागि पूर्व तयारी गर्नुपर्ने, सभासद् मन्जुमैंया लाखाले शिक्षण पेशालाई उत्साहित गर्नुपर्ने र महिलालाई प्रविधिमैत्री बनाउन आवश्यक तालिम दिनुपर्ने, सभासद् हेरा ख्याजुले हनुमन्त्ते खोला सुधार गर्नुपर्ने र पीआईडीको उपचार पोखरी निर्माण योजना शीघ्र सम्पन्न गर्न पहल गर्नुपर्ने, सभासद् कृष्णनारायण दुमरुले नगरकोट सडक निर्माण शीघ्र सम्पन्न गर्नुपर्ने र कमलविनायक आवास योजनामा खानेपानी व्यवस्था गर्नुपर्ने, सभासद् सिद्धिराम अवालले कलाकार अरनिकोको जीवनीबारे चर्चा गर्दै अरनिको सभाभवन शीघ्र सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै सभासद् इन्द्रबहादुर प्याठले सहकारी संस्थाहरुलाई सचेत गर्नुपर्ने र भ.न.पा. ९ को पर्यटन सूचना केन्द्र पुनः सञ्चालन गर्नुपर्ने, सभासद् श्यामसुन्दर मातांले नगर प्रहरीलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने, सहकारीको खराब् ऋण व्यवस्थित गर्नुपर्ने र ढुंगेधाराहरुको बन्द निकासहरु खोल्नुपर्ने, सभासद् नारायणप्रसाद त्वानाबासुले गाजाको नरसंहार, निजामति सेवा सम्बन्धी विधेयकमा रहेको कुलिङ अफ पिरियड, चोभार गल्छी, रासायिक मल व्यवस्थाबारे चर्चा गर्नुभयो भने सभासद् गोविन्द दुवालले भ्रष्टाचार विरोधी आन्दोलनको चर्चा गर्नुहु“दै पर्याप्त रासायनिक मल व्यवस्था गर्न पहल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उक्त सभामा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाको अठारौं नगरसभाको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।