भक्तपुर नपाको अठारौं नगरसभा चालु ः भक्तपुर नगरपालिकाको आ.व. २०८२।८३ को बजेटमाथि छलफल
२०८२ असार १० गते, मंगलबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको अठारौं नगरसभाको बैठक मंगलबार पनि चालु रह्यो । उक्त बैठकमा भक्तपुर नपाको आ.व. २०८२।८३ को बजेटमाथि छलफल भयो ।
सभाको आजको बैठकमा भक्तपुर नगरपालिकाको आ.व. २०८२÷०८३ को बजेटमाथि भएको दफावार छलफलमा सभासद्हरुले भक्तपुर नगरपालिकाको प्रस्तावित बजेट स्वागतयोग्य र प्रशंसनीय भएको बताउनुभयो ।
बजेटमाथिको छलफलमा भाग लिँदै सभासद् मन्जुमैंया लाखाजुले भक्तपुर नपाबाट सञ्चालित विभिन्न तालिम प्राप्त प्रशिक्षार्थीहरु हाल कुन क्षेत्रमा रोजगारी गरिरहेका छन् सोको तथ्यांक संकलन गर्नुपर्ने, भक्तपुरका सांस्कृतिक सम्पदाहरुमा मन्दिरको संक्षिप्त जानकारीसहितको चिनारी र पदमार्ग चिन्ह राख्नुपर्ने, देको मिवा इतापाके जग्गा एकीकरण आयोजना छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने धारणा राख्नुभयो ।
सभासद् हेरा ख्याजूले हनुमानघाटस्थित सत्तल पुनःनिर्माण गर्नुपर्ने, कृषिमा यान्त्रीकरण गर्न बजेट विनियोजन गर्नुपर्ने र कौसी खेती तालिमलाई पुनः सञ्चालन गर्नुपर्ने विचार राख्नुभयो ।
सभासद् श्यामसुन्दर मातांले शहिद स्मृति खेलमैदान स्तरोन्नति कार्य यथाशक्य सञ्चालन गर्नुपर्ने, अस्थायी, करार, दैनिक ज्यालादारी र मासिक ज्यालादारीका कर्मचारीको नागरिक लगानी कोष र पोशाक भत्ताको विषयलाई पुर्नविचार गर्नुपर्ने बताउनुभयो ।
सभासद् पुरुषोत्तम तमखूले नपाको आन्तरिक आय बढाउनेतर्फ पहल गर्नुपर्ने, इखालाछी पुनःनिर्माणको लागि बजेट अपुग रहेको र नपाभित्र गठित विभिन्न टोलसुधार समिति तथा विकास संस्थाहरुमा हुने आम्दानीलाई नपामा गाँभिनुपर्ने बताउनुभयो ।
सभासद् नारायणप्रसाद त्वानाबासुले व्यवसाय कर र सफाइ कर वृद्धि गर्न घुम्ती टोली व्यवस्थापन गरी नगरबासीहरुलाई करको दायरामा ल्याउनुपर्ने, स्वयम्सेवक शिक्षकको पारिश्रमिक खर्चको बन्दोबस्त गर्नुपर्ने बताउनुभयो ।
सभासद् रामसुन्दर बासीले वडा वडामा विनियोजित बजेट वृद्धि गर्नुपर्ने, बजेटलाई सफल कार्यान्वयनतर्फ जोड दिनुपर्ने धाराणा राख्नुभयो ।
त्यस्तै सभाको विशेष समयमा सभासद्हरु कल्पना शिल्पकार, सुमित्रा बोहजू, सरिना द्योला, इन्द्रबहादुर प्याठ, हरिरत्न गोर्खाली, कृष्णलाल किसी, हेरा ख्याजू, कृष्णनारायण दुमरु, जितेन्द्र मुनंकर्मी, श्यामसुन्दर मातां, सूर्यप्रसाद श्रेष्ठ, कृष्णगोपाल चौगुठी, कृष्णसुन्दर प्रजापति र गोविन्द दुवालले नगरको शिक्षा, स्वास्थ्य, सहकारी, सरसफाइ, सम्पदा संरक्षण, खानेपानीलगायतका स्थानीय समस्याहरु र अन्य समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयहरुमा आ—आफ्नो धारणा राख्नुभयो ।
सभामा उठेका जिज्ञासामाथि समितिका संयोजक तथा सदस्यहरुले सम्बन्धित विषयमा प्रष्ट पार्नुभयो ।
नगरसभाको अर्को बैठक २०८२ साल असार १२ गते बिहीबार दिनको १ बजे बस्ने गरी स्थगित भयो ।





+33
B