Explore news and happenings at Bhaktapur

सात दिने वाककला प्रशिक्षण तालिम सम्पन्न

भक्तपुर, असार ११, २०८२

0
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङ कलेजमा कार्यरत कर्मचारीहरूका लागि आयोजित सात दिने वाककला प्रशिक्षण तालिम आज एक विशेष कार्यक्रमबीच सम्पन्न भयो। २०८२ असार ४ गतेदेखि सुरु भएको उक्त तालिमले सहभागीहरूलाई प्रभावकारी ढंगले विचार प्रस्तुत गर्ने, आत्मविश्वास बढाउने, व्यवहारिक प्रस्तुतीकरण, र सार्वजनिक भाषणको कौशलमा विकास गर्न मद्दत पु¥याएको थियो।
समापन समारोहमा प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख तथा कलेज सञ्चालक समिति अध्यक्ष सुनिल प्रजापतिले वक्ताको विचार र व्यवहारमा एकरूपता आवश्यक रहेको कुरामा जोड दिँदै भने, ‘वक्ताले विचारअनुसार आचरण पनि गर्नु पर्छ। नैतिकता र इमान्दारिता वक्ताको अनिवार्य गुण हो।’
उहाँले वर्तमान राजनीतिक परिप्रेक्ष्यमा नेताहरूमा नैतिकताको खडेरी रहेको टिप्पणी गर्दै विगतमा संविधानसभा सदस्य, सभापति, प्रधानमन्त्री भइसकेका व्यक्तिहरू हाल भ्रष्टाचारको आरोप लागिरहेको उदाहरण प्रस्तुत गर्नुभयो। साथै, विदेशका उदाहरणहरू उद्धृत गर्दै मन्त्री तथा प्रधानमन्त्रीहरूले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने परिपाटी रहेको उल्लेख गर्नुभयो। उहाँले प्रश्न गर्दै भन्नुभयो, “हिजो गृहमन्त्रीको राजीनामा माग्ने सांसद, आज आफैं गृहमन्त्री हुँदा उस्तै घटनामा किन पदमा टाँसिरहेछन्?“
प्रमुख अतिथि प्रजापतिले उत्कृष्ट वक्ता बन्ने चाहना हुने व्यक्तिहरूले निरन्तर अभ्यास, आलोचना र सुझावलाई आत्मसात् गर्दै अगाडि बढ्नुपर्ने सुझाव दिनुभयो। उहाँले प्रसिद्ध क्युवाली नेता फिडेल क्यास्ट्रोको उदाहरण दिँदै ५०० पटक भन्दा बढी हत्या प्रयासका बाबजुद उनको भाषण अमेरिकीहरूले समेत चासोका साथ सुन्ने गरेको प्रसंग सुनाउँदै बोले, ‘वक्ताले दर्शकस्रोताको ध्यान खिच्न जान्नुपर्छ। कि पढेर जानिन्छ, कि परेर जानिन्छ।’
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले बोल्दै, “वक्ताले स्पष्ट बोल्न जान्नु मात्र पर्याप्त हुँदैन, उसले समाज र राष्ट्रमा के कस्तो प्रभाव पार्दछ भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ,’ भन्नुभयो। उहाँले हिटलर र मुसोलिनीजस्ता इतिहासका प्रखर वक्ताहरूको चर्चा गर्दै, ती व्यक्तिहरूले समाजलाई गलत दिशातर्फ मोडेको स्मरण गराउँदै, ‘वक्ताले समाजलाई सकारात्मक दिशामा डो¥याउन सके मात्र ऊ असल वक्ता हुन्छ,’ भन्ने धारणा राख्नुभयो। उहाँले जिम्मेवार वक्ताले नै निखारता ल्याउन सक्ने कुरामा पनि जोड दिनुभयो।
त्यसैगरी, ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले प्रशिक्षार्थीहरू सात दिनको तालिमबाट आत्मविश्वास प्राप्त गर्दै आफ्ना विचार खुलस्त रूपमा अभिव्यक्त गर्न सक्षम वक्ता बन्न पुगेको चर्चा गर्नुभयो। उहाँले भने, ‘निरन्तर अभ्यास र अध्ययनले व्यक्तित्वमा निखारता ल्याउँछ। असल वक्ता बन्न असल श्रोता पनि बन्न सक्नुपर्छ। वाककलाको विकाससँगै व्यवहारमा पनि सकारात्मक परिवर्तन आउनेछ भन्ने विश्वास लिएको छु।’
कार्यक्रममा वाककला प्रशिक्षक श्री शरद राईले वाककलाको ऐतिहासिक विकासक्रम र व्यवहारिक पक्षहरूबारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।
प्रशिक्षार्थी ई. सुरेश त्यात र कमलकेशरी थुयाजुले सात दिनको तालिमबाट प्राप्त अनुभव, सिकाइ र आत्मविश्वासका बारेमा धारणा राख्दै यस्ता तालिमले आफूहरूमा नयाँ सोच र प्रस्तुतिकौशल विकास गरेको बताए।
कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी पुण्यराम स्वंगमिखाले गर्नुभएको थियो।
अन्त्यमा, प्रमुख अतिथि श्री सुनिल प्रजापतिले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने प्रशिक्षक शरद राईलाई मायाको चिनो प्रदान गर्दै धन्यवाद व्यक्त गर्नुभयो। सहभागीहरूले तालिमलाई अत्यन्त उपयोगी, प्रभावकारी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका थिए।

Leave A Reply

Your email address will not be published.