Explore news and happenings at Bhaktapur

लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण सम्पन्न गर्न सहयोगी सबैमा धन्यवादज्ञापन कार्यक्रम

भक्तपुर । २०८२ जेठ २७

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण सम्पन्न भक्तपुर नपा वडा नं. ४ गःहिटीस्थित लक्ष्मीनरसिंह मन्दिर उद्घाटन, क्षमापूजा र ब्व छाय्गु कार्यक्रममा सहयोगी सम्पूर्णमा धन्यवाद ज्ञापन कार्यक्रम मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतिले लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण कार्य भक्तपुर नपाको अहिलेसम्मकै उत्कृष्ट र गौरव गर्न लायक काम हो भन्नुभयो ।
मन्दिर पुनःनिर्माणमा आर्थिक, भौतिक र जनश्रमदान गर्ने सबैमा नगरपालिकाको तर्फबाट धन्यवादज्ञापन गर्दै उहाँले जनताको साथ र सहयोग भएमा मौलिक सम्पदाहरुलाई पुनःजीवन दिन सक्षम छन् भन्ने दरिलो उदाहरण भक्तपुरले देखाएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले मन्दिर पुनःनिर्माणसँगै अध्ययन अनुसन्धानकर्ताहरुको लागि महत्वपूर्ण सामाग्री मन्दिरसँग सम्बन्धित सम्पूर्ण विवरण समावेश गरी पुस्तक प्रकाशन गरेको जानकारी दिँदै मन्दिर पुनःनिर्माणले भक्तपुरको पर्यटन विकासको लागि पनि महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले लामो समयदेखि जीर्ण अवस्थामा रहेको लक्ष्मीनरसिंह मन्दिर पुरानै स्वरुपमा पुनःनिर्माण गर्नु चुनौतीपूर्ण र उपलब्धीमूलक भएको बताउँदै जनताको साथ र सहयोगले पुनःनिर्माण कार्यले पूर्णता पाएको बताउनुभयो ।
लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका सचिव शिवराम किजुले रु. ४ करोड ८३ लाखमा सम्पन्न उक्त मन्दिर पुनःनिर्माणको क्रममा विभिन्न संघ संस्था, दाफा भजन, गुठीलगायतबाट रु. २२ लाख ६६ हजार बराबरको आर्थिक सहयोग संकलन भएको बताउनुभयो ।
कार्यक्रमका सभापति मन्दिर पुनःनिर्माण समितिका अध्यक्ष न्हुछेराम भेले र लक्ष्मी नरसिंह मन्दिर पुनःनिर्माण अनुगमन समिति सदस्य पशुपति प्रजापतिले मन्दिर पुनःनिर्माणसँगै भक्तपुरबासीहरुमा उत्साह थपेको बताउँदै उपभोक्ता समितिबाट कुनै पनि काम गर्दा अपनत्वको भावनाको विकास भएको र सबैको साथ र सहयोग पनि प्राप्त भएको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपाका वडा निरीक्षक विजय लोहलाले पनि बोल्नुभएको थियो ।
+5
B

Leave A Reply

Your email address will not be published.