Explore news and happenings at Bhaktapur

नगर प्रमुख सुनिल प्रजापतिलाई मधेस विश्वविद्यालयमा स्वागत

पर्सा । २०८१ माघ १४

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र पर्साको वीरगञ्जमा अवस्थित मधेस विश्वविद्यालयका उपकूलपति प्रा.डा. दिपक शाक्यबीच आज विश्वविद्यालयमा भेटघाट भयो । उपकूलपति शाक्यले नगरप्रमुख प्रजापतिलाई मधेस विश्वविद्यालयमा स्वागत गर्नुभयो ।
सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले पनि ख्वप विश्वविद्यालय सञ्चालन गर्ने उद्देश्यले विश्वविद्यालय सञ्चालनको लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा जोड दिइरहेको बताउनुभयो ।
उत्पादन श्रमसँग जोड्ने र अनुसन्धान केन्द्रित शिक्षा प्रदान गर्न भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालयको प्रस्ताव अघि बढाएको उहाँले बताउनुभयो । विश्व विद्यालयहरु अनुुसन्धानमा केन्द्रित हुनु पर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो, संघीयता संविधान र कानुनको पानामा मात्र सीमित छ, सिहदरवारमा बस्नेहरुको सोचमा संघीयता आएको छैन ।
नगरपालिकाले कला, संस्कृति, विज्ञान, कृषि, कानून, प्रविधि, अर्थशास्त्र, र व्यावसायिक शिक्षालाई प्राथमिकता दिइरहेको बताउँदै उहाँले भक्तपुर नगरपालिकाले २०५६ सालमा ख्वप मावि स्थापना गरी शैक्षिक क्षेत्रमा औपचारिक प्रवेश गरेको र २०५८ मा ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज र २०६५ मा ख्वप कलेज अफ इन्जिनियरिङ र २०७९ मा ख्वप कलेज अफ ल सञ्चालन गरी जनताका छोराछोरीहरुलाई सस्तो र गुणस्तरीय शिक्षा प्रदान गरिरहेकोे बताउनुभयो ।
भेटमा उपकूलपति शाक्यले मधेश प्रदेश सरकारले स्थापना गरेको मधेश विश्वविद्यालयले उच्च शिक्षा र अनुसन्धानलाई प्राथमिकतामा राख्दै आएको बताउँदै मधेशमा उच्च शिक्षाको विकासका लागि मधेश विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
वीरगञ्जस्थित नेशनल ट्रेडिङको भवनमा सञ्चालन भइरहेको मधेश विश्वविद्यालय स्थापनाको उद्देश्यबारे प्रष्ट पार्दै उहाँले उक्त विश्वविद्यालय सन् २०२२ सेप्टेम्बर ७ तारिखमा औपचारिक रुपमा उद्घाटन भएको बताउनुभयो ।
वीरगञ्जमा पहिलेदेखि नै विश्वविद्यालय स्थापनाका लागि प्रयास हुँदै आएको बताउँदै उहाँले मधेस विश्वविद्यालयमा हाल ११० जना विद्यार्थीहरु उच्च शिक्षाका लागि अध्ययनरत रहेको जानकारी दिनु भयो ।
उपकूलपति शाक्यले मधेस क्षेत्रको आवश्यकताअनुसारका विषय बीएएलएलबी, एम.पी.ए जस्ता विशिष्कृत विषयहरु सञ्चालन गर्दै आएको बताउँदै विश्वविद्यालयले गुणस्तरीय शिक्षा र निष्पक्ष रुपमा परीक्षाहरु सञ्चालन गरिरहेको बताउनुभयो ।
एम.पी.ए. विषयअन्तर्गत संघीयताको पाठ्यक्रम नै समावेश गर्ने तयारी गरिरहेको बताउँदै उहाँले मधेस विश्वविद्यालयले सीपमूलक शिक्षा प्रदानमा जोड दिँदै आएको बताउनुभयो । उहाँले हाल उच्च शिक्षा हासिल गर्ने विद्यार्थीहरुको संख्या घट्दै गइरहेको मा चिन्ता व्यक्त गर्नु भयो ।
स्थानीय तहहरुले यहाँको शिक्षामा अभिभावकत्व ग्रहण गर्न नसक्नु मधेस प्रदेशको ठूलो बिडम्बना भएको बताउँदै उहाँले मधेस विश्वविद्यालयले १० वर्षे रणनीति बनाएर अगाडि बढिरहेको बताउनुभयो ।
भेटमा मधेश विश्वविद्यालयका रजिष्टार विजय यादवले मधेस विश्वविद्यालय र भक्तपुर नपाबाट सञ्चालित कलेजहरुबीच आवश्यक सहकार्य गरेर अगाडि बढ्न सकिने धारणा राख्दै स्थानीय तहहरुको सहयोग भएमा धेरै काम गर्न सकिने बताउनु भयो । उहाँले भन्नुभयो, हामीले समय सापेक्ष कोर्स बनाउँदै छौं ।
प्रमुख प्रजापतिले उपकूलपति शाक्यलाई नगरपालिकाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभएको थियो । उक्त भेटघाटमा मधेस विश्वविद्यालयका रजिष्टर विजय यादव, डीन अन्जनकुमार मिश्र, नेमकिपा पर्सा जिल्ला समितिका अध्यक्ष सरोजकुमार साह, भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रोशनमैंया सुवाल, नेक्रायुसंघका केन्द्रीय कोषाध्यक्ष जगतराम धुख्वाको पनि उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.