नगर प्रमुख प्रजापतिसँग नेवा देय् दबु वीरगञ्ज महानगर समितिका प्रतिनिधिहरुको भेट
वीरगञ्ज । २०८१ माघ १३
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई नेवा देय् दबु वीरगञ्ज महानगर समिति अध्यक्ष सत्यम खड्गीले आइतबार वीरगञ्जमा एक कार्यक्रमबीच स्वागत गर्नुभयो ।
देवा देय् दबु वीरगञ्ज समितिका प्रतिनिधिहरुसँग भएको भेटघाट तथा परिचयात्मक कार्यक्रममा नगर प्रमुख प्रजापतिले नेवा परम्परा, भाषा, कला र संस्कृति नै नेवार जातिको पहिचान भएको बताउँदै यसको संरक्षण र सम्बद्र्धन सबैले आआफ्नो तर्फबाट पहल गर्नुपर्ने बताउनुभयो ।
उहाँले नेवा परम्परा, बाजा, मौलिक परिकारहरुलाई अन्तर्राष्ट्रियकरणमा पनि जोड दिनुपर्ने बताउँदै नयाँ पुस्तालाई मौलिक परम्परा, भाषा र सीप हस्तान्तरण गर्नेतर्फ अग्रसर हुनु जरुरी रहेको बताउनुभयो ।
भक्तपुर नपाले भक्तपुरमा अध्ययनरत विद्यार्थीहरुलाई भक्तपुरको कला संस्कृति, चाडपर्व आदिबारे स्थानीय पाठ्यक्रममार्फत अध्ययन अध्यापन समेत गराइरहेको बताउँदै नयाँ पुस्तामा पश्चिमा संस्कृतिको प्रभाव कम गर्न सकिएन भने हाम्रो मौलिक परम्पराहरु हराउँदै जाने बताउनुभयो ।
भक्तपुर कला र संस्कृतिमा समृद्ध नगर भएको बताउँदै उहाँले भक्तपुर नपाले लोप हुन लागेका संस्कृतिलाई पुनरुत्थान गर्ने कार्य गर्दै आएको बताउनुभयो ।
भेटघाट कार्यक्रममा नेवा देय् दबु वीरगञ्ज महानगर समितिका अध्यक्ष सत्यम खड्गीले कला संस्कृति संरक्षणमा भक्तपुर नगरपालिकाले गरिरहेको काम प्रशंनीय भएको बताउँदै समितिले भाषा संरक्षण गर्न नेपालभाषाको तालिम सञ्चालन गर्ने प्रयास गरिरहेको बताउनुभयो ।
वीरगञ्जमा पनि नेवा जातिको मौलिक जात्रा सञ्चालन, भाषा प्रवद्र्धनात्मक कार्यक्रम, भेटघाट कार्यक्रमहरु अगाडि बढाउँदै आएको उहाँले बताउनुभयो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले अध्यक्ष खड्गीलाई भक्तपुर नपाका प्रकाशनहरु उपहारको रुपमा प्रदान गर्नुभ्यो ।
उक्त भेटघाट कार्यक्रममा नेमकिपा पर्सा जिल्ला समितिका अध्यक्ष सरोज साह, भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रोशनमैंया सुवाल र नेक्रायुसंघका केन्द्रीय सदस्य जगतराम धुख्वाको उपस्थिति रहेको थियो ।



