विकास निर्माणका हरेक कार्य उपभोक्ता समितिमार्फत गर्दा स्थानीय जनताको अधिक विश्वास र आत्मीयतामा बृद्धि
२०८१ पुस २२
भक्तपुर महोत्सव २०८१ मा (मंसीर २८ गतेदेखि पुस २ गतेसम्म) मा सहभागी स्थानीय वडाबासीहरुलाई भक्तपुर नगरपालिका वडा नं २ को आयोजनामाधन्यबादज्ञापन कार्यक्रम सम्पन्नगरियो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख सुनिल प्रजापतिज्यूले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण लगायतका क्षेत्रमा गरिरहेको कार्यको चर्चा परिचर्चा अन्य स्थानीय निकायहरुले गर्नुका साथै सोहीअनुसार आफ्नो स्थानीय तहमा अनुसरण गर्न भ.न.पा.को अवलोकनबाट उत्साह मिलेको कुरा व्यक्त गरेको बताउनुभयो । भ.न.पा. अवलोकनमा आउने आन्तरिक र बाह्य जनप्रतिनिधिहरुले भक्तपुर सिक्न, सिकाउन र हेर्न लायक भएको चर्चा गर्नुभएको कुरा पनि व्यक्त गर्नुभयो ।
विकास निर्माणका हरेक कार्य उपभोक्ता समितिमार्फत गर्दा स्थानीय जनताको अधिक विश्वास र आत्मीयता बढेको चर्चा गर्दै कसैको भर नगरी आफैले अग्रसर भएर काम गर्नु पर्ने चर्चा गर्नुभयो । सार्वजनकि सम्पति संरक्षण गर्न सम्पुर्ण जनता सचेत र संगठित हुनु पर्ने पनि बताउनु भयो । भक्तपुर आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका साथ साथै आफ्नै लागि परम्परागत सीप, कला, जीवनशैली निरन्तर जोगाई राख्न पर्नेमा जोड दिनु भयो । भक्तपुर महोत्सवमा सम्पूर्ण भक्तपुरबासीले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा अमूल्य योगदान गर्नु भएको उच्च मुल्यांकन गर्दै भक्तपुर नगरको मौलिकता संरक्षण र पर्यटन प्रवद्र्धनको लागि कला संस्कृति मार्फत देश र समाजको सकारात्मक परिर्वतनमा सम्पूर्ण जनताको सक्रिय सहभागिता भएकोमा धन्यबाद दिनुभयो । साथै उहाँले आफ्नो स्थानीय कला, सीप र मौलिकतालाई व्यवसायिक रुपमा अगाडी बढाउनु पर्नेमा कुरामा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले भक्तपुर महोत्सव यहाँको कला, शीप, नाचगान, बाजागाजा, परम्परागत जीवनशैलीका सामग्रीहरु देखाउने र सोको अभिलेख तयार गर्न सघाउने महोत्सवको राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा सकारात्मक प्रचार रहेको चर्चा गर्नुभयो ।
भ.न.पा. वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा संम्पन्न उक्त कार्यक्रममा समाजसेवी रविन्द्र खर्बुजा, रत्नकाजी नायभारी, वडा सदस्य श्याम सुन्दर मातां, मञ्जु लाखाजुले भक्तपुर महोत्सवको बारेमा चर्चा गर्नुका साथै वडाका विभिन्न सहकारी, विद्यालय, दाफाभजन, स्थानीय महिला समूह, स्वयमसेवकलगायत सम्पूर्णमा धन्यबाद प्रमाणपत्र वितरण गरिएको थियो ।



