दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारीहरुको टोली भनपामा
मिति २०८१ पौष २२ गते, सोमबार ।
भक्तपुर नगरपालिकाका प्रमुख श्री सुनिल प्रजापतिसँग भक्तपुर नगरपालिकाको अध्ययन अवलोकनको लागि आउनु भएको दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष श्री भक्त सिंह ठेकरे बोहरा सहितको टोलीले भनपा सभाकक्ष्ँम सोमबार भेट ग¥यो ।
भेटको क्रममा भनपा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइको क्षेत्रमा गरिरहेको कार्य देशकै निम्ति उदाहरणीय रहेको बताउनुहुँदै भक्तपुर नगरपालिकाले नगरलाई पर्यटकीय गन्तव्य बनाउन मंसिर २८ गतेदेखि पौष २ गतेसम्म भक्तपुर महोत्सव आयोजना गरी देश विदेशका करिब ८ लाख आन्तरिक र वाह्य पर्यटकहरुले महोत्सव अवलोकन गरेको जानकारी दिनुभयो ।
उहाँले स्थानीय तह अनुसार विविधता हुने बताउनुहुँदै भक्तपुर नगरको विशेषता साँस्कृतिक र ऐतिहासिक सम्पदायुक्त पर्यटकीय नगर भएकोले यहाँको प्रमुख आम्दानीको स्रोत पर्यटन रहेको बताउनुभयो ।
त्यस्तै अपिहिमाल गाउँपालिकाका अध्यक्ष बोहराले अपिहिमाल गाउँपालिका क्षेत्रफलको हिसावले भक्तपुर भन्दा ठूलो भएतापनि जनसंख्याको हिसाबले थोरै जनसंख्या भएको पालिका र हिमाली जडिबुटीको प्रचुर सम्भावना भएको गाउँपालिका भएको बताउनुभयो । उहाँले भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा गरिरहेको कार्य अन्य स्थानीय तहको लागि उदाहरणीय रहेको बताउनुहुँदै भक्तपुर नपाले मौलिक शैलीमा पुरातात्विक सम्पदा निर्माण गर्न अपिहिमाल गापाका प्राविधिहरुलाई सो सम्बन्धी तालिममा दिई सहकार्य गर्न सकेमा उपयुक्त हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा गरिरहेको कार्यबारे प्रस्तुतीकरण देखाउनुभएको थियो । कार्यक्रममा, भनपा–९ का वडाध्यक्ष रविन्द्र ज्याख्व, भनपा–८ का वडाध्यक्ष कृष्णप्रसाद कोजू, भनपाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई लगायत जनप्रतिनिधि र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।



