लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन तथा महिला भेला
२०८१ मंसिर २५, मंगलबार
भक्तपुर नगरपालिकाको आयोजनामा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको समापन तथा महिला भेला कार्यक्रम मंगलबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महिला र पुरुषबीचको विभेद सदियौंदेखि चलिआएको बताउँदै समाजमा ब्याप्त अन्धविश्वासले पनि लैंगिक हिंसालाई बढावा दिने बताउनुभयो ।
लैंगिक हिंसाविरुद्धको अभियानमा सबै एकाकार भएर लाग्नुपर्ने बताउँदै महिलाहरुले आफूलाई आत्मनिर्भर भएर बाँच्न प्रेरित गर्नुभयो ।
लैंगिक हिंसा पनि पुँजीवादी व्यवस्थाको विकृत रुप हो भन्दै उहाँले समाजवादी व्यवस्थामा मात्र महिलाहरुले समानतापूर्वक बाँच्न पाउने अधिकारको सुनिश्चितता हुने बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले लिंगको आधारमा गरिने शारीरिक, मानसिक र यौनजन्य हिंसा नै लैंगिक हिंसा भएको बताउनुभयो ।
उहाँले महिला भएकै कारण हिंसाबाट पीडित हुनुपर्ने बाध्यताको अन्त्य हुन जरुरी रहेको बताउँदै सभ्य र सुसंस्कृत समाज निर्माणमा महिला र पुरुषको भूमिका बराबर रहेको बताउनुभयो ।
भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले लैंगिक हिंसाको अन्त्य आफ्नो घर परिवारबाटै हुनुपर्नेमा जोड दिँदै नेपालको संविधानले महिला हकको व्यवस्था गरे पनि शिक्षाको अभावका कारण महिलाहरु आफ्नो हक अधिकारबाट बञ्चित रहनुपरेको यथार्थबारे प्रष्ट पार्नुभयो ।
महिला बालबालिका तथा समाज कल्याण समितिका संयोजक एवम् भक्तपुर नगरपालिका कार्यपालिका सदस्य रोशनमैंया सुवालको सभपातित्वमा सम्पन्न उक्त कार्यक्रममा समितिका सदस्य हेरा ख्याजु र सुमित्रा बोहजूले पनि बोल्नुभएको थियो ।




