भक्तपुर महोत्सव व्यवस्थापनको लागि संस्कृतिकर्मीहरुको भेला सम्पन्न
भक्तपुर । २०८१ मंसिर १९, बुधबार
भक्तपुर महोत्सवमा प्रदर्शन हुने सांस्कृतिक गतिविधि व्यवस्थापनको लागि आज भक्तपुर नगरपालिकाको आयोजनामा संस्कृतिकर्मीहरुको भेला कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले महोत्सव व्यवस्थापनको लागि सरोकारवाला निकायहरुसँग नियमित छलफल र बैठकहरु हुँदै आएको बताउँदै भक्तपुरको जीवनशैली, खानपान, शैक्षिक गतिविधि, सांस्कृतिक गतिविधि, परम्परागत सीप र खेलकुदलगायत गतिविधि प्रदर्शन गर्ने उद्देश्यले भक्तपुर महोत्सवको आयोजना भएको बताउनुभयो ।
भक्तपुरको दिगो पर्यटन विकास र प्रवद्र्धनमा पनि महोत्सवले विशेष टेवा पुर्याउने बताउँदै उहाँले पाँचदिने महोत्सवलाई उल्लासमय बनाउन सबैको साथ र सहयोगले मात्र सम्भव हुने बताउनुभयो ।
भक्तपुका परिश्रमी जनताको अथक मेहेनत र परिश्रमले भक्तपुरको विकास अगाडि बढेको हो भन्दै उहाँले यो महोत्सवले भक्तपुरबारे अध्ययन अनुसन्धान गर्ने अध्येताहरुको लागि राम्रो अवसर पनि हुने बताउनुभयो ।
सम्पदा पुनःनिर्माणमा भक्तपुर नपाले विदेशी संघ संस्थाबाट कुनै सहयोग नलिएको प्रसंग जोड्दै स्थानीय जनताकै साथ र सहयोगमा भक्तपुरको पुनःनिर्माण सम्पन्न भएको हो भन्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले लोप भइसकेको सम्पदाहरुको उत्खनन् गरी मौलिक स्वरुपमै पुनःनिर्माण गर्ने प्रयत्न गरिरहेको बताउँदै लोपोन्मुख सम्पदाहरुलाई संरक्षण गर्ने कार्यलाई पनि चालु राखेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष एवम् भक्तपुर महोत्सव सांस्कृतिक कार्यक्रम व्यवस्थापन समितिका संयोजक रविन्द्र ज्याख्वले महोत्सवमा हुने सांस्कृतिक प्रदर्शनी व्यवस्थापन गर्ने विषयमा प्रष्ट पार्नुभयो । उहाँले सांस्कृतिक प्रस्तुतीअन्तर्गत १४८ वटा दर्ता भइसकेको जानकारी गराउनुभयो । महोत्सवकै अवसरमा २९ गते क्वाठण्डौं टोलमा खुल्ला बाँसुरी प्रतियोगिता समेत आयोजना हुने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर महोत्सव सचिवालय संयोजक गौतमप्रसाद लासिवाले भक्तपुरको अहिलेसम्मको तयारीबारे प्रष्ट पार्नुभयो । उक्त कार्यक्रममा समितिका सदस्य हेरा ख्याजुले पनि महोत्सवको आकर्षणबारे प्रष्ट पार्नुभयो ।




