नगर शिक्षा समिति भक्तपुरले शुक्रबार भक्तपुर नगरपालिकाभित्र अध्ययनरत विद्यार्थीहरुको परीक्षा सञ्चालन समन्वय तथा आवश्यक व्यवस्था गर्न भक्तपुर नगरपालिका शिक्षा ऐन २०७४ को परिच्छेद ६ दफा १५ बमोजिम भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको अध्यक्षतामा आठ सदस्यीय परीक्षा समिति २०८१ गठन गरेको छ ।
उक्त समितिमा अध्यक्षमा योगेन्द्रमान बिजुक्छेँ, सदस्यहरुमा भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, सार्वजनिक माध्यमिक विद्यालय, संयुक्त परीक्षा परीक्षा समितिका गणेशराम थुसा, सामूहिक परीक्षा समितिका राम हाडा, निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) का शिवकुमार कोजु, संस्थागत विद्यालय संघ नेपाल (इसान) का बदनकेशरी प्रजापति र एनप्याब्सनका रामप्रसाद खाताख्व रहनुभएको छ ।
समिति गठनपश्चात नगर प्रमुख सुनिल प्रजापतिले सम्पूर्ण पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो भने उक्त कार्यक्रममा प्रमुख प्रजापतिले नगरपालिकाले सञ्चालन गर्ने परीक्षालाई स्वच्छ, मर्यादित एवम् अनुशासित रुपमा सम्पन्न गर्न निर्देशन दिनुभयो ।


