भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भनपा वडा नं. ७ जगातिस्थित हित बचत तथा ऋण सहकारी संस्था लि.को. १७ औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख प्रजापतिले सहकारी संस्था आर्थिक कारोबारमा मात्र सीमित नरही सम्पूर्ण सदस्यहरूको सांस्कृतिक र राजनीतिक स्तर उकास्ने काममा पनि ध्यान पुग्नुपर्छ भन्नुभयो ।
सहकारी संस्थाले गरेको अनुत्पादक क्षेत्रमा लगानी गरेका कारण धेरै सहकारी सङ्कटग्रस्त अवस्थामा पुगेको बताउँदै उहाँले सहकारी संस्थाको पैसालाई सञ्चालकहरूले जथाभावी लगानी गर्न नहुने धारणा राख्नुभयो ।
समाजमा असल र खराब दुवै प्रकारका मानिस हुने उल्लेख गर्दै उहाँले संस्थामा खराब नियतले पसेका मानिसले संस्थाको अहितमा काम गर्ने बताउनुभयो । सहकारी संस्थाका सदस्यहरूलाई उद्यमशील बन्न प्रेरित गर्नुपर्ने बताउँदै उहाँले युवाहरूलाई विदेशमा अध्ययन गरे पनि आफ्नै देशको सेवा गर्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले सल्लाघारीस्थित १०८ रोपनी जग्गामा ख्वप विश्वविद्यालय सञ्चालनको लागि माग गरिरहेको स्पष्ट पार्दै उहाँले २१ औँ शताब्दीका आवश्यक दक्ष र योग्य नागरिक तयार गर्ने उद्देश्यले काम गरिरहेको बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारीका प्रतिनिधि श्रीप्रसाद त्यातले भक्तपुर जिल्ला बचत सङ्घले समय समयमा सदस्य शिक्षा र सबलीकरण कार्यक्रम आयोजना गर्दै आएको बताउँदै सञ्चालकहरूबाट हुने अनियमितताका कारण सहकारीको बदनाम भएको हो भन्नुभयो ।
हित साकोसका अध्यक्ष रामगोपाल बालाले हित साकोस सहकारी मूल्यमान्यता र सिद्धान्तअनुरुप सञ्चालन भइरहेको बताउनुभयो ।
हित साकोसका सदस्य रामचन्द्र दथेपुथे, सहलाहकारद्वय कोमलप्रसाद तिमिल्सेना र रामगोविन्द खागीले पनि संस्था स्थापनाको उद्देश्य र संस्थाको गतिविधिबारे प्रस्ट पार्नुभयो भने मित्र सहकारीबाट शुभकामना सन्देशहरू राखिएको थियो । कार्यक्रम संयोजक विनोद लामिछानेले स्वागत मन्तव्य राख्नुभयो ।
प्रमुख अतिथि प्रजापतिले संस्थाका ज्येष्ठ सदस्य, असल बचतकर्ता, असल ऋणी र एसईईमा उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्नुभएको थियो ।



