भ्रष्टाचार नैतिक पतन हुने फौजदारी अपराध हो : प्रमुख प्रजापति
भक्तपुर । २०८१ भदौ २६, बुधबार
भ्रष्टाचारविरुद्ध अभियानमा भक्तपुरले गरेको योगदानको स्मरण दिवसको अवसरमा भक्तपुर नपा वडा नं. ५ को आयोजनामा ‘भ्रष्टाचारविरोधी अभियानमा विद्यार्थीको भूमिका’ विषयक भक्तपुर नगरपालिका माध्यमिक विद्यालय (कक्षा ९ देखि १२) स्तरीय वक्तृत्वकला प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम बुधबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
उक्त प्रतियोगितामा बासु माविका प्रतिक्षा शाही प्रथम, बागीश्वरी माविका आस्था गुमान्जु द्वितीय, एभरेष्ट इ. स्कूलका सिल्भिया खड्का तृतीय र सैनिक आवासीय महाविद्यालयका उत्सव आचार्यले सान्त्वना स्थान हासिल गरेका थिए ।
प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र र पुरस्कार वितरण गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भ्रष्टाचार नैतिक पतन हुने फौजदारी अपराध भएको बताउनुभयो ।
उहाँले आर्थिक कारोबार गर्ने ठाउँमा भ्रष्टाचारको सम्भावना बढी हुने बताउँदै देश आर्थिक रुपले पछाडि पर्नुमा भ्रष्टाचार पनि मुख्य कारण भएको बताउनुभयो ।
भक्तपुर भ्रष्टाचारविरोधी आन्दोलन भएको ठाउँ पनि हो भन्दै उहाँले भक्तपुर नगरपालिकाले इमानदार र पारदर्शी ढंगले यहाँको विकास निर्माण गर्दै निःस्वार्थ रुपमा जनताको सेवा गर्दै आइरहेको बताउनुभयो ।
नेपालमा भ्रष्टाचार कहिल्यै निको नहुने महारोगको रुपमा देखिएको बताउँदै प्रमुख प्रजापतिले भ्रष्टाचारका कारण राज्यको आर्थिक, सामाजिक, सांस्कृतिक एवम् राजनैतिक क्षेत्रमा गहिरो ढंगले नकारातमक असर पारेको बताउनुभयो ।
अन्य देशमा भ्रष्टाचारीहरुलाई मृत्युदण्डको व्यवस्था पनि रहेको बताउँदै उहाँले नैतिक रुपमा पतन भएको व्यक्तिले समाजमा कहिल्यै शिर ठाडो गरी हिँड्न सक्दैन भन्नुभयो ।
पुँजीवादी व्यवस्थामा संसदलाई शासकले गर्ने अवैध काम वैध गर्ने थलो बनाइन्छ भन्दै उहाँले गलत र अनैतिक काम गर्नुहुँदैन भन्ने भावना विद्यालयतहदेखि नै सिकाइनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले इमानदार नयाँ पुस्ता तयार गर्ने उद्देश्यले भक्तपुर नपाले विद्यालय लक्षित विविध गतिविधिमा जोड दिँदै आएको बताउँदै देशलाई आर्थिक र नैतिक रुपले सबल बनाउन विद्यार्थी तहदेखि नै भ्रष्टाचारविरोधी भावनाको विकास गर्नुपर्ने बताउनुभयो ।
भक्तपुरलाई शिक्षाको माध्यमबाट अगाडि ल्याउने उद्देश्यका साथ भक्तपुर नपाले शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आज देशको उत्कृष्ट शैक्षिक गन्तव्यस्थलको रुपमा भक्तपुर विकास भइरहेको उहाँले प्रष्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले देशको ढुकुटी लुटेर देशलाई कंगाल बनाउने भ्रष्टाचारीहरुलाई कानुनअनुसार कडाभन्दा कडा सजाय दिइनुपर्नेमा जोड दिँदै भ्रष्टाचारले देशलाई विकसित हुन दिँदैन भन्नुभयो ।
कार्यक्रममा वडा नं. ५ का वडा सदस्य सरिना द्योला र नगर शिक्षा शाखाका अधिकृत साधुराम फुँयालले पनि बोल्नुभएको थियो भने विजेता विद्यार्थीहरुले पनि भ्रष्टाचारबारे आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा नगर उपप्रमुख रजनी जोशीले प्रतियोगितामा सहभागी विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।



