संस्थागत विद्यालय संघ नेपाल (इसान) को आयोजनामा फुटसल प्रतियोगिता आजबाट सुरु
भक्तपुर । २०८१ भदौ २५, मंगलबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलका माध्यमबाट खेलाडीहरुले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा उत्कृष्ट खेल प्रदर्शन गरी देशको गरिमालाई उँचो बनाएको बताउनुभयो ।
संस्थागत विद्यालय संघ नेपाल (इसान) जिल्ला समितिको आयोजना राष्ट्रिय बाल दिवसको अवसरमा भदौ २५, २६ र २७ गते सम्म सञ्चालन हुने जुनियर फुटसल प्रतियोगिताको आज उद्घाटन गर्दै प्रमुख प्रजापतिले विद्यार्थी जीवनमा गरेको मेहेनतले विद्यार्थीको भविष्य उज्ज्वल बनाउने धारणा राख्नुभयो ।
प्रमुख प्रजापतिले कुनै पनि काम सानो ठूलो नहुने बताउँदै श्रमलाई माया गर्नुपर्छ भन्नुभयो ।
कठिन मेहनत र परिश्रमले विद्यार्थीलाई सफल बनाउने बताउँदै उहाँले खेलकुद गतिविधिलाई निरन्तरता दिन सके शारीरिक र मानसिक रुपले स्वस्थ र तन्दुरुस्त रहन मद्दत पुग्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगितालाई चालु राखेको बताउँदै सरकारको भर नपरी भक्तपुर नपाले आफ्नै स्रोत साधनले खेलकुद क्षेत्रको विकासमा विशेष पहल गर्दै आइरहेको बताउनुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले विद्यार्थीहरुको बौद्धिक र मानसिक विकास सँगसँगै शारीरिक विकासको लागि पनि खेलकुदले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै इसानले विद्यार्थीहरुको समग्र विकासको लागि अतिरिक्त क्रियाकलापलाई जोड दिँदै आएको बताउनुभयो ।
इसान जिल्ला समितिका अध्यक्ष कृष्णराम त्वानाबासुले इसान आबद्ध विद्यालयका विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न प्रतियोगिता आयोजना गरेको बताउँदै विद्यार्थीहरुले जित्ने र सिक्ने भावनाले खेलकुद प्रतियोगितामा भाग लिन प्रेरित गर्नुभयो ।
उक्त कार्यक्रममा सूर्यदिप इ. स्कूलका प्रधानाध्यापक लक्ष्मीप्रसाद प्रजापतिले पनि बोल्नुभएको थियो भने प्रमुख प्रजापतिले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिँदै रेफ्रिलाई बल हस्तान्तरण गर्नुभएको थियो ।



