Explore news and happenings at Bhaktapur

महालक्ष्मी नगरपालिकाका समाजसेवीहरुद्वारा भक्तपुर भ्रमण

मिति २०८१ भदौ २२ गते

0
भक्तपुर नगरपालिकाको कला, संस्कृति र सम्पदा संरक्षणका साथै शिक्षा र स्वास्थ्यको माध्यमबाट जनताको सेवाबारे अध्ययन गर्न महालक्ष्मी नगरपालिका ललितपुरका समाजसेवीहरूले भक्तपुरको भ्रमण गरे ।
यस क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजवादी व्यवस्थामा जनताको सरकार हुने हुनाले सो व्यवस्थामा शिक्षा र स्वास्थ्यजस्ता अति आवश्यक सेवा सुविधाहरू राज्यले निःशुल्क प्रदान गर्नुपर्ने बताउनुभयो ।
भनपाले जनताको शिक्षा र स्वास्थ्य क्षेत्रमा सेवा प्रदान गर्न कलेज र अस्पतालहरू सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा ३६५ दिन नै ओपीडी सेवा सञ्चालन गरेको र सो अस्पतालबाट दैनिक ८०० देखि ९०० जना (८० प्रतिशत स्वास्थ्य बीमाका) बिरामीहरूले सेवा प्राप्त गरिरहेको जानकारी दिँदै प्रमुख प्रजापतिले ख्वप अस्पतालले स्वास्थ्य बीमाबापतको रू. २० करोडभन्दा बढी भुक्तानी पाउन ढिलाइ भइरहँदा अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको उल्लेख गर्नुभयो ।
नगर प्रमुख प्रजापतिले जनताको शिक्षा स्तर विकास गर्न विभिन्न कलेजहरू सञ्चालन गरी इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र नर्सिङको न्यून शुल्कमा अध्यापन गरिरहेको र ती कलेजबाट देशका ७७ जिल्लाका विद्यार्थीहरूले लाभ लिइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले विकास निर्माण कार्यहरू स्थानीय उपभोक्ता समितिमार्पmत काम भइरहेको उल्लेख गर्दै उहाँले सोको सम्पूर्ण हिसाब ख्वप सः एफ एम, ख्वपः पौ, भक्तपुर मासिक, भक्तपुर नगरपालिकाको अनलाइन र ख्वप टेलिभिजनमार्फत पारदर्शी गरिरहेको बताउनुभयो ।
“भक्तपुर नगरपालिकाले यहाँको मठ, मन्दिर, बाटोघाटो र विभिन्न निर्माणहरू ठेक्कापट्टा नगरिकन स्थानीयवासीहरूकै उपभोक्ता समितिमार्फत काम भइरहेकोले यसबाट विकास निर्माण कम लागतमा गुणस्तरीय भएको छ”, उहाँले भन्नुभयो ।
छलफल कार्यक्रममा नेपाल मजदुर किसान पार्टी ललितपुरका अध्यक्ष राजवीर डंगोलले देशमा भ्रष्टाचार हुनुमा कर्मचारीतन्त्रदेखि मन्त्रीहरूसम्मकै संलग्नता रहेकोले देश विकास नभएको धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिका पर्यटक सूचना तथा सेवा केन्द्रका प्रमुख गौतमप्रसाद लासिवाले भक्तपुर नगरमा जनप्रतिनिधिहरू पार्टीको घोषणापत्रबमोजिम जनताकै सेवा गर्न लागिपरेको र विदेशी र एनजीओको सहयोगबाट नभई जनप्रतिनिधि, कर्मचारी र जनतासंग मिलेर काम गरिरहेको बताउनुभयो ।
अध्ययन भ्रमणको क्रममा मार्ग निर्देशन र सहजीकरण गर्नुभएकोमा धन्यवाद ज्ञापन गर्दै महन्त महर्जनले भक्तपुर नगरपालिकाको कार्यशैलीबाट सिक्नुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.