बजेट सुझाव संकलनको लागि युवा, विद्यार्थी, शिक्षक भेला सम्पन्न
२०८१ जेठ २५ गते, शुक्रबार
भक्तपुर नपाको आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि शुक्रबार युवा, विद्यार्थी र शिक्षकहरुसँग बिहीबार राय—सुझाव संकलन भयो ।
उक्त कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले युवा र महिला लक्षित धेरै गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो ।
नगरबासीहरुबाट प्राप्त रायसुझावलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको बजेट निर्माण हुने बताउँदै उहाँले भक्तपुर नपाले शिक्षामा गरेको लगानीले भक्तपुर आज शैक्षिक गन्तव्यस्थलको रुपमा विकास भइरहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित युवा, विद्यार्थी तथा शिक्षक प्रतिनिधिहरूले नगरभित्र रहेका सडक बत्तीहरु समय समयमा मर्मतसम्भार गर्नुपर्ने, सांस्कृतिक नगरी भक्तपुरमा सांस्कृतिक एकेडेमी सञ्चालन गर्नुपर्ने, भक्तपुरको औद्योगिक क्षेत्र स्थानान्तरणको लागि पहल गर्नुपर्ने, खानेपानी समानुपातिक ढंगले वितरण गर्नुपर्ने, पाइपलाइन र नगरकोट सडकमा ढल व्यवस्थापनको लागि पहल गर्नुपर्ने, नगरका ठाउँ ठाउँमा पार्किङ क्षेत्र र फोहोर फाल्ने ठाउँको व्यवस्था गर्नुपर्ने, घोषणापत्रमा उल्लेख भएअनुसार स्वीमिङ पुल निर्माणतर्फ जोड दिनुपर्ने, माहेश्वरी खेलमैदान स्तरोन्नति गर्नुपर्ने, टोलटोलका टीम, क्लब पुस्तकालयहरुलाई सक्रिय बनाउनुपर्ने, खेलकुद क्षेत्रमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने, विद्यालय व्यवस्थापनबारे प्रअहरुलाई तालिम दिनुपर्ने, विद्यालयहरुको परिणाममुखी अनुगमन र निरीक्षणमा जोड दिनुपर्ने, ख्वपको पहिचान अध्यापनको लागि स्वयम्सेवक शिक्षकहरु ्रव्यवस्था गर्नुपर्ने, कानुन विषयलाई कक्षा ९ र १० मा ऐच्छिक विषयको रुपमा समावेश गर्नुपर्नेलगायतका सुझावहरु राखेका थिए ।
कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्राई र भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले पनि बोल्नुभएको थियो ।



