भक्तपुरका मजदुर प्रतिनिधिहरूसँग भक्तपुर नपाको आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम र बजेट तर्जुमाको लागि बिहीबार राय—सुझाव संकलन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय तहले असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने कानुनी प्रावधान भएको बताउँदै भक्तपुर नपाले बजेट निर्माणको क्रममा सरोकारवाला सबैहरुसँग चरणबद्ध रुपमा भेला गरी आवश्यक रायसुझाव संकलनमा जोड दिँदै आएको बताउनुभयो ।
उहाँले समाजवादी देशहरुबाट सिक्दै भक्तपुर नपाले काम गर्दै आइरहेको बताउँदै मजदुरहरुको हकहित सुनिश्चित गर्न मजदुर स्वयम् सचेत र संगठित हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित मजदुर प्रतिनिधिहरूले अनलाइन नक्सा दर्ता गर्न बजेट तर्जुमा गर्नुपर्ने, कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई अनिवार्य स्काउट शिक्षाको नीति आवश्यक भएको, मजदुरहरुको निम्ति सामाजिक सुरक्षा कोष आवश्यक भएको, आगलागी क्षति न्युनीकरणको लागि सुरक्षा व्यवस्थाको तालिम सञ्चालन गर्नुपर्ने, मार्बल र टाइल छपाईसम्बन्धी तालिम सञ्चालन गर्नुपर्ने, आवास क्षेत्रमा हेभी सवारीसाधन निषेध गर्नुपर्ने, विकास निर्माण कार्यमा स्थानीय निर्माणकर्मीहरुलाई प्राथमिकतामा राख्नुपर्ने, पर्यटन व्यवसायलक्षित तालिम सञ्चालन गर्नुपर्ने, पेशा–व्यवसायलाई सूचिकृत गर्नुपर्नेलगायतका सुझावहरु राखेका थिए ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्राई, भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले पनि बोल्नुभएको थियो ।



