भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जैविक मलको उत्पादन, प्रयोगबारे नेपालले क्युवाबाट सिक्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा कम्पोष्ट मल प्रयोग सम्बन्धी किसानहरुलाई अभिमुखीकरण कार्यक्रममा उहाँले उक्त विचार राख्दै क्युवालाई अमेरिकी साम्राज्यवादले नाकाबन्दी गरी दुःख दिएको बेला त्यहाँ जैविक खेती सुरु गरेर कृषिमा आत्मनिर्भर बन्न सफल भएको उल्लेख गर्नुभयो ।
उहाँले कुहिने फोहर मलबाट कम्पोष्ट मल उत्पादन गरी सस्तोमा किसानहरुलाई बिक्री गरिरहेको बताउँदै माटोको गुणस्तरमा कमी हुन नदिन किसानहरुलाई कम्पोष्ट मल प्रयोगको लागि उत्साहित गर्नुभयो ।
उहाँले भन्नुभयो, नेमकिपाले स्वदेशमै मल कारखाना स्थापनाको लागि निरन्तर आवाज उठाउँदै आएको छ । मल कारखाना भएको भए किसानले समयमा रसायनिक मल पाउने थिए, उत्पादनमा वृद्धि हुने र व्यापार घाटा कम गर्ने मद्दत पुग्नेछ ।
बजेटमा कृषिलाई प्राथमिकतामा नराखेको उल्लेख गर्दै उहाँले देशको अर्थतन्त्र कमजोर हुनुमा आर्थिक उदारीकरणको नीति अवलम्बन गर्नु हो भन्नुभयो । देशका भएभरका कलकारखानाहरुमा निजीकरण गरेर कसरी देशको अर्थतन्त्र बलियो हुन सक्छ ? उहाँको भनाइ थियो ।
नगर सभासद् गोविन्द दुवालले मजदुर किसानको समस्या समाधान भएमात्र देशको समस्या समाधान हुने उल्लेख गर्दै विदेशीको हितमा काम गर्नेहरु जुनसुकै पार्टीको नेता कार्यकर्ता भए पनि जनताका शत्रु हुन् भन्नुभयो ।
भक्तपुर नगरपालिका कृषि समितिका संयोजक राजकृष्ण गोराको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कम्पोष्ट मल प्राविधिक रमिता तमखूले भक्तपुर नपाले कसरी कम्पोष्ट मल उत्पादन गर्दैछ र कृषिमा त्यसको कसरी प्रयोग गर्ने भनी प्रस्तुतीकरण दिनुभएको थियो । सो क्रममा कृषकहरुले कम्पोष्ट मल प्रयोग सम्बन्धी विभिन्न जिज्ञासाहरु राखेका थिए ।



