Explore news and happenings at Bhaktapur

स्याङ्जाको फेदीखोला गाउँपालिकाका जनप्रतिनिधिहरु भक्तपुर नगरपालिकामा

२०८१ जेठ ११ गते शुक्रबार ।

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग स्याङ्जाको फेदीखोला गाउँपालिकाका उपाध्यक्ष देउ कुमारी गुरुङसहित ३२ जनाको टोलीले भक्तपुर नगरपालिकाको अध्ययन अवलोकन भ्रमण गरेको थियो ।
अवलोकन भ्रमणको क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साँस्कृतिक नगर भक्तपुरमा स्वागत गर्नुहुँदै भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाईलाई उच्च प्राथमिकतामा राख्दै समाजबाद उन्मुख कार्य गरिरहेको बताउनुभयो ।
उहाँले नागरिकको जन्मदेखि मृत्युसम्मको जिम्मेवारी सरकारले लिनुपर्ने समाजवादी भावना आत्मसात गर्दै भक्तपुर नगरपालिकाले शिशुशालादेखि विश्वविद्यालय तहसम्मको शिक्षाको लागि नगरपालिकाले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्पबाट पूर्ण र आंशिक क्षति भएका सम्पदाहरु उपभोक्ता समितिमार्फत पुरानै शैलीमा सम्पदा पुनःनिर्माणका कार्यहरु गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईले टोलीलाई स्वागत गर्नुहुँदै भक्तपुर नगरपालिकालले संविधानको मर्म अनुसारको स्वायत्तताको अभ्यास गरिरहेको बताउनुभयो ।
कार्यक्रम पश्चात भएको अन्तरक्रिया कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख जोशी, प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराई, प्रशासकीय अधिकृत दामोदर सुवाल, कर शाखा प्रमुख प्रभाषकुमार चालिसे, कानून शाखा प्रमुख गणेशलाल फोंजू र आर्थिक प्रशासन प्रमुख रामसुन्दर खाताखोले अध्ययन टोलीका सहभागीहरुले उठाएको जिज्ञासाहरु प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रमको अन्त्यमा भनपाका प्रमुख प्रजापतिले भनपाका प्रकाशनहरु र भक्तपुरको प्रसिद्ध मयुर झ्याल मायाको चिनो स्वरुप हस्तान्तरण गर्नुभएको थियो भने फेदीखोला गाउँपालिकाका उपप्रमुख गुरुङले प्रमुख प्रजापतिलाई गाउँपालिकाको प्रकाशनहरु हस्तान्तरण गर्नुभयो ।
कार्यक्रम पश्चात भ्रमण टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज र ख्वप अस्पतालको अवलोकन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.