सेवा निवृत्त शिक्षक समाज भक्तपुरको ४५ औं शिक्षक दिवसको उपलक्ष्यमा सेवा निवृत्त शिक्षक सम्मान, १४ औं शैक्षिक अनुभव विमोचन तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम बिहीबार सम्पन्न भयो ।
शैक्षिक अनुभव पुस्तक बिमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सेवा निवृत्त शिक्षकहरुको जीवनका भोगाइ र अनुभवहरु आफैमा नयाँ पुस्ताका लागि अमूल्य सम्पत्ति भएको हुँदा ती अनुभवहरुलाई लिपिबद्ध गर्नुपर्ने बताउनुभयो ।
उहाँले संकटलाई अवसरको रुपमा सदुपयोग गर्न सके सफलता मिल्ने बताउँदै भक्तपुर नगरपालिकाले पनि धेरै चुनौतीहरु पार गर्दै देशकै नमुना र उदाहरणीय बन्न सफल भएको दृष्टान्त प्रस्तुत गर्नुभयो ।
ख्वप विश्वविद्यालय सञ्चालन गर्ने भक्तपुर नपाको उद्देश्य रहेको प्रष्ट पार्दै उहाँले शैक्षिक रुपमा अगाडि बढेको देशको विकास र समृद्धि पनि छिटो हुने बताउनुभयो ।
न्यायलयप्रति जनताको विश्वास घट्दै जानुमा शासक दलहरु दोषी रहेको बताउँदै उहाँले सचेत नागरिकहले जहिल्यै देशको बारे चिन्तन गर्छन् भन्नुभयो । उहाँले आत्मनिर्भर हुने शिक्षा आजको आवश्यकता भएको औंल्याउँदै सेवा निवृत्त शिक्षकहरुको सक्रियताले समाजलाई सही दिशामा दोर्याउन मद्दत पुग्ने बताउनुभयो ।
शैक्षिक अनुभव पुस्तकका प्रधान सम्पादक ज्ञानसागर प्रजापतिले सेवा निवृत्त शिक्षक समाजको नियमित पत्रिका शैक्षिक अनुभव पुस्तकको समीक्षा गर्दै पुस्तकमा सेवानिवृत्त शिक्षकहरुको शैक्षिक अनुभव, शिक्षकहरुको पेन्सनबारे उठाइएका आवाजहरु, जीवनी, जीवन संघर्ष, शिक्षा विधेयकबारे नेमकिपाको धारणा, यात्रा संस्करण, कवितालगायत सन्देशमूलक र प्रेरणादायी लेखहरु समाविष्ट रहेको बताउनुभयो ।
समाजका सदस्य भोजराज बस्नेतले आफ्नो शैक्षिक अनुभव सुनाउँदै राजनीतिका विकृत रुपहरुमाथि प्रकाश पार्नुभयो ।
समाजका अध्यक्ष अम्बिकामान मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्तममा उपाध्यक्ष रामगोपाल कर्माचार्य, कोषाध्यक्ष विश्वराम कवां, तुल्सीराम ग्वाछाले सेवा निवृत्त शिक्षक समाज स्थापनाबाट शिक्षकहरुको हकहित सुनिश्चित गर्न शिक्षकहरुलाई संगठित र सचेत पार्ने अवसर मिलेको बताउँदै सेवा निवृत्त शिक्षकहरु अझ सबल र सक्षम ढंगले काम गर्नुपर्ने बताउनुभयो ।



