Explore news and happenings at Bhaktapur

भक्तपुरका सहकारीकर्मीहरुलाई ऋण व्यवस्थापन तालिम

भक्तपुर । १५ चैत्र २०८०

0
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी सदस्यहरुको सेवा गर्नेभन्दा निजी स्वार्थ पूरा गर्नेतिर ध्यान दिने सहकारीहरू समाजमा बद्नाम हुँदै गइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको सहकारी संस्थाअन्तर्गत ऋण उपसमितिका पदाधिकारीहरुलाई ऋण व्यवस्थापनबारे तालिमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले सहकारी संस्थाका सञ्चालकहरूले इमानदार र पारदर्शी ढंगले काम गरेन भने संस्था डुब्ने खतरा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सहकारी सदस्यहरू जति सहकारीप्रति सचेत हुन्छन्, त्यति नै सहकारी सुरक्षित हुन्छ । सबै सदस्यहरूलाई सचेत पार्ने कार्यमा सञ्चालकहरू लाग्नु आवश्यक छ ।’
भक्तपुर नगरपालिकाले सहकारी सदस्यहरुको बचत र ऋण लगानीलाई सुरक्षित गर्न र अन्यको भन्दा व्यवस्थित ढंगले भक्तपुरका सहकारीहरु सञ्चालन गराउनका लागि समय समयमा विभिन्न तालिमहरु सञ्चालन गर्दै आइरहेको उहाँले बताउनुभयो ।
आधुनिक चीन सहकारीको जगबाट नै माथि उठेको बताउँदै उहाँले सहकारीमा रहेको रकम लेनदेनमा मात्रै सीमित नराखी सदस्यहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम दिनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष तथा सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले सहकारीकै कारण आफ्नो पैसा डुबेर कतिपयले आत्महत्या समेत गरेको घटनाहरु समाजमा ब्याप्त रहेको बताउँदै उहाँले सहकारीबाट जम्मा भएको सामुदायिक विकास कोषको रकम समुदायकै हितमा परिचालन भइरहेको बताउनुभयो ।
ऋण व्यवस्थापन तालिमका सहजकर्ता बासुदेव भट्टराईले ऋण लगानी र असुलीमा सहकारी संस्थाले ध्यान दिनुपर्ने पक्षमाथि प्रष्ट पार्नुभयो ।
कार्यक्रममा सहकारी समितिका सदस्य नारायणप्रसाद त्वानाबासुले पनि तालिमको महत्वमाथि प्रकाश पार्नुभयो ।
तालिममा भक्तपुर नपाभित्रका २४ वटा सहकारी संस्थाका ऋण उपसमिति संयोजक तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.