Explore news and happenings at Bhaktapur

‘शिक्षक, बालबालिका सहजकर्ता तथा विद्यालय कर्मचारी कामकाजमा खटाउने सम्बन्धी कार्यविधि २०८०’ सर्वसम्मतिमा पारित

0
भक्तपुर नगरपालिकाका प्रमुख एवम् पन्ध्रौं नगरसभाका सभाअध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा आइतबार बसेको नगरसभाको बैठकले ‘शिक्षक, बालबालिका सहजकर्ता तथा विद्यालय कर्मचारी कामकाजमा खटाउने सम्बन्धी कार्यविधि २०८०’ सर्वसम्मतिबाट पारित भयो ।
नगरसभाको उक्त बैठकले भक्तपुर नपाद्वारा सञ्चालित ख्वप कलेजको विनियम २०६५, ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ र ख्वप अस्पताल सञ्चालन तथा व्यवस्थापन नियमावली २०७७ को विनियम संशोधन प्रस्ताव पारित भयो ।
बैठकमा बोल्दै सभाध्यक्ष प्रजापतिले ‘शिक्षक, बालबालिका सहजकर्ता तथा विद्यालय कर्मचारी कामकाजमा खटाउने सम्बन्धी कार्यविधि २०८०’ को उद्देश्य माथि प्रष्ट पार्दै भक्तपुर नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, बालविकास सहजकर्ता, स्वयम्सेवक शिक्षक, विद्यालय कर्मचारीहरुलाई कामकाजमा खटाई व्यवस्थापन गर्न कार्यविधि बनेको प्रष्ट पार्नुभयो ।
पारित कार्यविधिमा नगरपालिका क्षेत्रभित्र एक विद्यालयबाट अर्को विद्यालयमा तह र विषय मिल्ने भएमा, शिक्षक स्वयम्ले सरुवा मागगरेमा, विद्यालयले माग गरेमा, अनुगमन प्राविधिक सहयोग समिति र नगर शिक्षा शाखा प्रमुखको सिफारिसमा नगर शिक्षा समितिको अध्यक्षले शिक्षक विद्यार्थी अनुपातको आधारमा विद्यालयको आवश्यकतालाई पूरा गर्ने गरी एक विद्यालयबाट अर्को विद्यालयमा समयावधि तोकेर वा नतोकेर शिक्षक वा विद्यालय कर्मचारीलाई कामकाज गरेकै विद्यालयबाट तलब भत्ता खाने गरी वा कामकाज गरेको विद्यालयको हाजिरी प्रमाणितको आधारमा दरबन्दी कायम भएकै विद्यालयबाट तलबभत्ता खानेगरी कामकाजमा खटाउन सक्ने प्रावधान समावेश छ ।
साथै अपांगता भएका शिक्षक कर्मचारीलाई कामकाजमा खटाउँदा निजलाई सहज हुने विद्यालयलाई प्राथमिकतामा दिइने र शिक्षकको मागबमोजिम कामकाजमा खटाउनुपर्ने अवस्थामा धेरै शिक्षकको माग दाबी परेमा ज्येष्ठतालाई आधार मानिने व्यवस्था पनि उक्त कार्यविधिले गरेको छ ।
विधायन समितिका संयोजक हरिराम सुवालले ‘शिक्षक, बालबालिका सहजकर्ता तथा विद्यालय कर्मचारी कामकाजमा खटाउने सम्बन्धी कार्यविधि २०८०’ सभासमक्ष प्रस्तुत गर्नुभएको थियो भने कार्यविधि माथि भएको छलफलमा सभासद् नारायणप्रसाद त्वानाबासुले आफ्नो सुझाव राख्नुभएको थियो ।
नगरसभाको अर्को बैठक माघ ३ गते दिनको १ बजे बस्ने गरी आजको बैठक सकिएको जानकारी गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.