Explore news and happenings at Bhaktapur

भक्तपुर अस्पतालमा आइसीयु कक्ष र पीसीआर प्रयोगशाला उद्घाटन

कार्तिक २७ गते, बिहीबार

0

बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयु) को बिहीबार एक समारोहबीच उद्घाटन गर्नुभयो ।

भक्तपुर जिल्लामा कोरोना संक्रमण तीव्र बन्दै गएपछि समुदायस्तरमा कोरोना फैलिन नदिनको लागि भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित भक्तपुर अस्पतालमा प्रदेश सरकारको सहयोगमा पीसीआर परीक्षण सेवा औपचारिक रुपमा आजबाट सुरु गरिएको हो ।

उद्घाटन कार्यक्रममा प्रदेश मन्त्री दुलालले आर्थिक वर्ष २०७६/७७ को वार्षिक समीक्षा गर्दा भक्तपुर अस्पतालको प्रगति अरु अस्पतालको भन्दा उत्कृष्ट भएसँगै भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट अस्पताल हुन सफल भएको बताउनुभयो ।

एनजीओद्वारा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालको थुप्रै बेथितिहरू औंल्याउनुहुँदै मन्त्री दुलालले भक्तपुर क्यान्सर अस्पताल सरकारी व्यवस्थापनमा सञ्चालन गर्ने निर्णय गरिसकेको बताउनुभयो । सरकारको मातहतमा सञ्चालनपश्चात भक्तपुर क्यान्सर अस्पतालले भरतपुर अस्पतालमा जस्तै सस्तोमा स्तरीय क्यान्सर उपचार सेवा प्रदान गरिने उहाँले आश्वस्त पार्नुभयो ।

मन्त्री दुलालले प्रदेश अस्पतालको आन्तरिक सुदृढीकरणको लागि नेतृत्व व्यवस्थापनमा जोड दिंदै अगाडि बढेकै कारण अस्पतालको विकास सम्भव भएको जिकिर गर्नुहुँदै प्रदेश सरकार कोभिड महामारीबाट विजय प्राप्त गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएकोमा खुशी प्रकट गर्नुभयो । उहाँले भक्तपुर अस्पताल हाल भक्तपुरलगायतका क्षेत्रहरूका बिरामीहरूको विश्वास जित्न सक्नु सबैको लागि खुशीको विषय भएको बताउनुभयो ।

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले व्यवस्थित आइसोलेसन सञ्चालन गरी कोरोना संक्रमितहरूलाई आवश्यक परामर्श सेवा पनि दिइरहेको बताउनुहुँदै कोरोना जोखिमलाई ध्यानमा राखेर अनलाइनमार्फत शारीरिक व्यायाम पनि सुरुवात गरिसकेको बताउनुभयो ।

कोभिड महामारीबीच निजी अस्पताल जनताको सेवा भन्दा नाफा र संस्थागत फाइदाको निम्ति सञ्चालन भएको कुरा पुष्टि भएको बताउनुहुँदै प्रमुख प्रजापतिले सरकारले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोना परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय सकारात्मक भएको बताउनुभयो ।

बागमती प्रदेशका प्रदेश सदस्य डा. राजेन्द्रमान श्रेष्ठले वर्तमान समयमा भक्तपुर अस्पताल सञ्चालनमा ठूलो विकास भइरहेको बताउनुहुँदै जनप्रतिनिधि, प्रशासन, अस्पताल व्यवस्थापन, चिकित्सक र कर्मचारीहरूको सामूहिक प्रयासका कारण अस्पतालको प्रगति सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुमित्रा गौतमले पीसीआर सेवाको प्रारम्भिक परीक्षण भइरहेको र भक्तपुर अस्पतालबाट पीसीआर परीक्षण निःशुल्क रुपमा गरिने जानकारी दिनुभयो । भक्तपुर अस्पतालमा पीसीआर परीक्षणको व्यवस्थाका लागि भक्तपुरका जनप्रतिनिधि एवम् जनताले निरन्तर पहल गर्दै आइरहेको स्मरण गर्नुहुँदै डा. गौतमले कोभिड महामारीबीच पनि अस्पतालले अहोरात्र बिरामीहरूको उपचार र सेवामा समर्पित भएर लागिपरेको बताउनुभयो ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यहरूको पनि उपस्थिति रहेको थियो भने जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नवराज गेलाल, भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवाल, पत्रकार महासंघ भक्तपुर जिल्लाका अध्यक्ष पुष्कर बुढाथोकीलगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

मन्त्री दुलाल, नगर प्रमुख प्रजापति, प्रदेश सांसदलगायतले पीसीआर प्रयोगशालाको औपचारिक उद्घाटन पश्चात अस्पतालको सघन उपचार कक्ष (आइसीयु) को स्थलगत अवलोकन गर्नुभयो ।

 

Leave A Reply

Your email address will not be published.