सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका २१ स्थायी कर्मचारीहरुलाई नियुक्ति पत्र प्रदान
भक्तपुर । २०७६ फागुन १८ गते, आइतबार
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका २१ स्थायी नवनियुक्त नर्स, डाक्टर तथा कर्मचारीहरुलाई केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले आइतबार सपथ ग्रहणसहित स्थायी नियुक्ति पत्र प्रदान गर्नुभयो ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका आयोजनामा भएको सपथ ग्रहण कार्यक्रममा बोल्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले केन्द्र सञ्चालनका क्रममा रहेका अप्ठ्यारा परिस्थितिका बाबजुद स्थापना भएको सात वर्षको समयमा देशकै उत्कृष्ट प्रत्यारोपण केन्द्र बनेकोमा खुशी व्यक्त गर्नुभयो ।
सरकारी अस्पतालहरुमा हुने सेवा प्रवाह र कार्यशैलीप्रति जनताको गुनासोलाई न्युन गर्ने ढंगले काम गर्न अभिप्रेरित गर्नुहुँदै प्रमुख प्रजापतिले जनताको निःशुल्क उपचार सेवा कानुनी बन्दोबस्तमा नै उल्लेख हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले क्यान्सर, मस्तिष्क घात, मृरौला र मुटु रोगीलगायतका कडा रोग लागेका नगरबासी बिरामीहरुलाई रु. १०,०००।– आर्थिक सहयोग प्रदान गर्दै आएको चर्चा गर्नुहुँदै उहाँले भक्तपुर नपाले १४ वटा ठाउँमा निःशुल्क व्यायामशाला राखिसकेको बताउनुभयो ।
केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठले स्थायी कर्मचारी प्राप्त भइसकेपछि केन्द्रले मृगौला रोगीहरुको उपचारमा नयाँ इतिहास रच्नेमा विश्वास व्यक्त गर्नुभयो ।
स्थायी नियुक्ती प्राप्त कर्मचारीहरुलाई निःशुल्क उपचार सेवा प्रदान गर्ने बताउनुहुँदै केन्द्र स्थापनाको सात वर्षमा ७०० वटा मृगौला प्रत्यारोपण भइसकेको र प्रत्येक वर्ष केन्द्रले १०० वटा मृगौला प्रत्यारोपण गरिरहेको अवगत गराउनुभयो ।
केन्द्रका प्रा.डा. राकेशकुमार बर्माले स्थायी पदपूर्ति भएका कर्मचारीलाई बधाईज्ञापन गर्नुहुँदै कर्मचारीहरुलाई इमानदारीपूर्वक कठोर अनुशासनमा बसेर देश र जनताको हितमा केन्द्रित भएर काम गर्न मार्गनिर्देशन गर्नुभयो । उहाँले केन्द्रद्वारा प्रवाहित सेवा सुविधाहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा ख्याति कमाइरहेको छ भन्नुभयो ।
केन्द्रका नर्सिङ इन्चार्ज कोपिला दाहालले विगतका दिनमा केन्द्रमा कार्यरत कर्मचारीहरुले धेरै समस्याहरु सामना गर्नुपरेको बताउनुहुँदै नवनियुक्त कर्मचारीहरुले सरकारी सेवा–सुविधा प्राप्त गर्ने र संस्थाप्रतिको सेवाभावलाई ध्यानमा राखेर निस्वार्थ रुपमा सेवा गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रका डा. कल्पना श्रेष्ठ र प्रान प्रमुख भानुभक्त न्यौपानेले केन्द्रबाट प्रवाहित सेवासुविधाबारे अवगत गराउनुहुँदै मृगौला प्रत्यारोपणमा नेपालकै पहिलो उत्कृष्ट केन्द्र भएको र केन्द्रले मुटु शल्यक्रिया पनि छिट्टै सञ्चालनमा ल्याउने तयारीमा जुटिरहेको बताउनुभयो ।






