Explore news and happenings at Bhaktapur

समाजको सेवा नै धर्म हो

भक्तपुर, २०७६ माघ १७ गते शुक्रबार ।

0


वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको प्रमुख आतिथ्यतामा श्रीराममन्दिर स्थापनाको शतबार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि जोशीले धार्मिक सहिष्णुता कायम गर्दै भक्तपुरबासीहरुले सम्पदा संरक्षणमा अग्रणी स्थान हासिल गर्दै १०० वर्ष पूरा गरी ऐतिहासिक महत्व कायम गर्न सफल राममन्दिर जीर्णोद्धार गरी उदाहरणीय काम गरेकोमा बधाई ज्ञापन गर्नुभयो । उहाँले संस्कृतिभित्र जीवन दर्शन रहेको कुरा प्रष्ट्याउनुहुँदै भक्तपुर नगरपालिकाले गरिरहेको सम्पदा संरक्षणको प्रशंसा गर्नुभयो ।

  कार्यक्रममा विशिष्ट अतिथि सुनिल प्रजापतिले १०० वर्ष नाघेको साँस्कृतिक महत्व बोकेका कुनै पनि बस्तु सम्पदा बन्ने हुँदा राममन्दिर पनि सम्पदाको रुपमा रहने विचार व्यक्त गर्नुहुँदै हाम्रा पूर्खाले सिर्जेका ऐतिहासिक र साँस्कृतिक महत्व बोकेका सबै सम्पदाहरुको संरक्षण गर्नु हाम्रो दायित्व हो भन्नुभयो ।

उहाँले पर्तिजग्गा, साझा जग्गा र सार्वजनिक गुठी जग्गा र सम्पत्ति आफ्नो व्यक्तिगत नाममा राख्ने गरेको उदाहरणहरु प्रस्तुत गर्नुहुँदै सार्वजनिक सम्पतिको रुपमा राममन्दिर संरक्षण कार्य उदाहरणीय भएको बताउनुभयो । उहाँले “देश र समाजको सेवा नै धर्म हो” भन्नुभयो ।
प्रमुख प्रजापतिले भाषा, कला, संस्कृतिको संरक्षण सबै नगरवासीको दायित्व भएको हुँदा सबैले यसको सम्बद्र्धन गर्दै पुस्तान्तरण गर्नुपर्ने बताउनुहुँदै भक्तपुर सानो नगर भएकोले भक्तपुरलाई पर्यटकीय नगरको रुपमा विकास गराउन सकेमा बढी भन्दा बढी नगरबासीको आर्थिक समुन्नति हुने सोचका साथ यही चैत्र ४–८ गतेसम्म भक्तपुर महोत्सवको आयोजना गर्न लागेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले २०७२ सालको भूकम्प पश्चात भक्तपुर जिल्लाभित्रका क्षतिग्रष्ट ९१ वटा सम्पदा पुनःनिर्माण गरिसकेको र हाल ५ तल्ले मन्दिर जीणोद्धार कार्य भैरहेको बताउनुहुँदै भक्तपुर नपामा भएका ऐतिहासिक भाजुपोखरी र रानीपोखरी लगायतका पोखरीहरुको संरक्षण गरिरहेको उहाँले बताउनुभयो ।

साँस्कृतिक सम्पदाहरु जीर्णोद्धार एवं पुनःनिर्माण ठेक्काबाट गराउँदा संरचनाको मौलिकता गुम्ने बताउनुहुँदै सम्पदा आपैmले पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मानव जीवनलाई नैतिक र समाजसेवाप्रति उत्तरदायी बनाउन धेरै समयदेखि धार्मिक आस्थाले काम गरिरहेको बताउनुहुँदै जीवनलाई पूर्ण र कल्याणकारी बनाउन अमूर्त सम्पदाले काम गर्ने बताउनुभयो ।
पूर्खाले सिर्जेको कला र संस्कृति र सम्पदाको संरक्षण कार्य भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुहुँदै उहाँले यसबाट नैतिकवान समुदाय र सुन्दरमय समाज बनाउन सकिने बताउनुभयो ।

कार्यक्रममा पुरातत्व विभाग, भक्तपुरका प्रमुख सरस्वती सिंहले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त राममन्दिरको पुनःनिर्माण कार्यको लागि पुरात्व विभागबाट हालसम्म १ करोड ९० लाख बजेट विनियोजित भई कार्य सम्पन्न भएको जानकारी गराउनुहुँदै संरक्षण कार्यमा सहयोग पुर्‍याउनुहुने समुदाय र संरक्षण समितिका पदाधिकारीहरुप्रति अभार प्रकट गर्नुभयो ।

राममन्दिर संरक्षण समितिका सभापति, इन्द्रप्रसाद प्रजापति, सचिव विजयराम प्रजापति, कोषाध्यक्ष विनोद प्रजापति, सदस्य मिनाक्षी प्रजापति, महन्त हरिदास वैष्णव लगायतले बोल्नुभएको कार्यक्रममा “राममन्दिर” स्मारिका विमोचन, संरक्षण कार्यमा सहयोग गर्नुहुने व्यक्तिहरुलाई सम्मान तथा प्रशंसापत्र वितरण गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.