Explore news and happenings at Bhaktapur

भनपा–१ स्थित नवनिर्मित नयाँ पाटी र शारीरिक व्यायाम स्थल उद्‍घाटन

२०७६ कार्तिक ६ गते बुधबार ।

0

भनपा प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा नवनिर्मित नयाँ पाटी र शारीरिक व्यायाम स्थल उद्घाटन तथा शारीरिक व्यायाम सामग्री हस्तान्तरण बुधबार गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले नपाले नपाका सबै ठाउँमा व्यायाम सामग्री राख्नुको मुख्य उद्देश्य सबै नागरिकहरुलाई स्वस्थ बनाउनु रहेको बताउनुहुँदै “शारीरिक व्यायाम र खेलकुद मानव जीवनको अभिन्न अंग हो” भन्नुभयो ।
उहाँले समाजवाद उन्मुख व्यवस्था अनुसार आफ्ना नीति तथा कार्यक्रमलाई अगाडि बढाइरहेको उल्लेख गर्नुहुँदै प्रत्येक नागरिकलाई सैनिक तालिम दिइने व्यवस्थाको माग नेपाल मजदुर किसान पार्टीले अगाडि सारेको बताउनुहुँदै खेलकुदमा सरिक व्यक्तिहरु शारीरिक रुपमा तन्दुरुस्त हुने बताउनुभयो ।

सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा भक्तपुर नपाले आयोजना गर्ने विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुने जानकारी गराउनुहुँदै भाजुपोखरी, रानीपोखरी जस्ता ठूल्ठूला पोखरीहरु पुनःनिर्माण कार्य तीब्र रुपमा अगाडि बढाइरहेको उहाँले बताउनुभयो ।
भक्तपुर नपाभित्र रहेका पर्ति जग्गा र सरकारी जग्गालाई सही ढंगले सदुपयोग र संरक्षण गरिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले कुहिने र नकुहिने फोहर अलग अलग छुट्याएर दिनको निम्ति आह्वान गर्नुभयो ।

भक्तपुर नपाले सञ्चालन गररहेका कलेजप्रति देशभरीकै स्थानीय तहहरुको निम्ति चासोको विषय बनिरहेको र नपाको मुख्य उद्देश्य व्यापक जनताको हितमा काम गर्ने रहेको बताउनुहुँदै उहाँले नगरपालिका जनसहभागिता र व्यापक छलफल मार्पmत अगाडि बढिरहेको बताउनुभयो ।

कार्यक्रमका सभापति एवं भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले नगरबासीलाई शारीरिक रुपमा स्वस्थ राख्नको लागि नपाले १० वटै वडामा व्यायामस्थल व्यवस्थापन र व्यायाम सामग्री जडान गरिसकेको बताउनुभयो ।

उहाँले सिद्धपोखरीमा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको सहजताको लागि पोखरीको पूर्वपट्टि पाटी सहितको शौचालय निर्माण गरिएको र यहि आउँदो कार्तिक महिनामा विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुने जानकारी गराउनुभयो ।

कार्यक्रममा १ नं. वडाका पूर्व वडाध्यक्ष लक्ष्मीनारायण राजलवतले नेपालभाषा साहित्य तःमुँज्या मुगुठीले यहि कार्तिक १२ गते मंगलबार न्हुँ दँ र्‍यालीको आयोजना गरेको हुँदा कार्यक्रममा सहभागिताको लागि अनुरोध गर्नुभयो ।

कार्यक्रममा नवनिर्मित पाटी उपभोक्ता समितिका अध्यक्ष गणेशभक्त कोजुले नवनिर्मित पाटी र व्यायाम स्थलको सदुपयोग गर्न अनुरोध गर्नुभयो भने समितिका कोषाध्यक्ष बाबुकाजी धौबन्जारले पाटी निर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुँदै लागत इष्टिमेट ५९ लाख ९० हजार भएकोमा कूल खर्च ५२ लाख ३७ हजार भएको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रमुख प्रजापतिले नःपली सेजनानगर सेवा समितिलाई सृजनानगरमा राखिने व्यायाम सामग्री हस्तान्तरण गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.