नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समिति गठन
२०७६ साउन ३० गते विहिबार ।
भक्तपुर क्यान्सर अस्पतालमा हालैका दिनमा व्यवस्थापन समितिका जिम्मेवार पदाधिकारीहरुबाट नै आर्थिक अनियमितता र भ्रष्टाचार भएको संचार माध्यमहरुमा समाचार प्रकाशित भएको र त्यसविरुद्ध स्थानीय जनता तथा अस्पतालका चिकित्सक एवं कर्मचारीहरुबाट संघर्ष भइरहेको अवस्थामा नगरपालिका क्षेत्रभित्र रहेको अस्पतालको अव्यवस्थालाई समयमै समाधान गर्न नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरियो ।
स्थानीय जनताप्रति उत्तरदायी रही कम शुल्कमा विरामीहरुको स्तरीय उपचार गर्नुपर्नेमा व्यवस्थापन समितिमा रही केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थ पूरा गर्न भ्रष्टाचार गरेको र यस विषयमा नगरपालिकाका जनप्रतिनिधिहरुले पटक पटक व्यवस्थापन समितिका पदाधिकारीहरुसंग सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएपछि अस्पतालको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी नगर कार्यपालिकाको विहिबार बसेको बैठकले नयाँ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको नगरपालिका स्रोतले जनाएको छ ।
बैठकले अस्पताल रहेको भक्तपुर जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित संघीय साँसद प्रेम सुवाल र सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित साँसद सुरेन्द्रराज गोसाईलाई सल्लाहकारमा राखिएको छ ।
अस्पतालभित्र भइरहेको भ्रष्टाचार र आर्थिक अनियमितताको विरोधमा संघर्षरत स्थानीय जनता, भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समिति र भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिबाट समेत अस्पतालको संचालन एवं व्यवस्थापनको जिम्मेवारी लिन नगरपालिकामा लिखित अनुरोध पत्र प्राप्त भएको उल्लेख गर्दै अस्पताललाई व्यवस्थित ढंगबाट संचालन तथा विरामीहरुलाई स्तरीय उपचार सेवा प्रदान गर्न समिति गठन गर्ने निर्णय गरिएको प्रमुख प्रजापतिले बताउनुभयो ।
समितिमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्षहरु रविन्द्र ज्याख्व, उकेश कवां र श्यामकृष्ण खत्री सदस्य रहेका छन् । त्यस्तै नेपाल अर्वुद रोग निवारण संस्था, भक्तपुर शाखाका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिका अध्यक्ष र सोही समितिका महिला सदस्य, अस्पतालका मेडिकल डाक्टर प्रतिनिधि र कर्मचारी कल्याणकारी समितिका प्रतिनिधि पनि सदस्य रहेका छन् । अस्पतालका मेडिकल डाइरेक्टर सदस्य सचिव रहने गरी बनाइएको उक्त समितिमा महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरिक्षकलाई आमन्त्रित सदस्यको रुपमा चयन गरिएको प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
क्यान्सर अस्पताल निर्माणका लागि नगरपालिकाको तर्फबाट ११ रोपनी जग्गा प्रदान गरिएको थियो । देशकै नमूनाको रुपमा संचालन भइरहेको अस्पतालमा आर्थिक अनियमितता भइरहेकोमा चिन्ता व्यक्त गर्दै यस विषयमा छानवीन गर्ने तयारी भइरहेको उहाँले अवगत गराउनुभयो ।