योग्य शिक्षकबाट मात्रै योग्य विद्यार्थी उत्पादन हुन्छ – प्रमुख सुनिल प्रजापति
भक्तपुर, २०७५ चैत २४ गते, आइतबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निजी र सामुदायिक विद्यालयबीचको भेद हटाउन र विद्यार्थीलाई समान शिक्षा दिन भक्तपुर नगरपालिकाले शिक्षक–शिक्षिकाहरूलाई विषयगत तालिम सञ्चालन र विद्यार्थी केन्द्रित प्रतियोगिताहरू आयोजना गरिरहेको बताउनुभयो ।

शान्ति निकेतन माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रमुख प्रजापतिले सामुदायिक विद्यालयको स्तरोन्नति भए त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले गुणस्तरीय शिक्षा प्राप्त गर्ने बताउनुभयो । योग्य शिक्षकबाट योग्य विद्यार्थी उत्पादनमा सहयोग पुग्ने बताउनुहुँदै उहाँले विद्यार्थीलाई सही राजनीति गर्न प्रेरित गर्नुपर्नेमा जोड दिनुुभयो ।
ख्वप विश्वविद्यालय स्थापना गरी कम शुल्कमा उच्च शिक्षा प्रदान गर्ने र श्रमसँग जोडिएको शिक्षा दिई योग्य नागरिक तयार गर्ने उद्देश्य भक्तपुर नगरपालिकाको रहेको बताउनुहुँदै प्रमुख प्रजापतिले हातमा सीप हुने मानिसले कहिल्यै भोको बस्न नपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चवालले विद्यालयले योजनाबद्ध रुपमा विद्यार्थीको सर्वाङ्गीण विकासमा भूमिका निर्वाह गर्दै आएको बताउँदै विद्यालयका सबल पक्षहरूलाई निरन्तरता दिंदै थप उपलब्धीका लागि आवश्यक व्यवस्थापन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
शान्ति निकेतन माविका प्रधानाध्यापक महेन्द्रगोपाल कर्माचार्यले विद्यालयको मुल उद्देश्य विद्यार्थीलाई सक्षम, सुयोग्य र असल नागरिक बनाउनु हो भन्दै सरसफाइ कार्यक्रम तथा चेतनामूलक ¥यालीहरूमा विद्यार्थीलाई सहभागी गराउँदै समाज सेवामा अग्रसर हुन प्रेरित गर्ने कार्यहरू गरिरहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मीनालक्ष्मी प्रजापति र निवर्तमान अध्यक्ष पवनकुमार बल्लले पनि शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले ‘शान्ति निकेतन’ बुलेटिनको बिमोचन गर्नुका साथै विद्यालयका उत्कृष्ट शिक्षक तथा विद्यार्थीहरूलाई सम्मान पत्र प्रदान गर्नुभएको थियो ।







