Explore news and happenings at Bhaktapur

राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवसको अवसरमा तीन जना स्वास्थ्य स्वयम्सेविकाहरू सम्मानित

भक्तपुर । २०८२ मंसिर १९

0
हरेक वर्ष डिसेम्बर ५ का दिन अन्तर्राष्ट्रिय स्वयम्सेवक दिवस पारेर नेपालमा पनि राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका दिवस मनाइँदै आएको छ ।
भक्तपुर नगरपालिकाले ‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य दिवस २०८२’ को अवसरमा आज भक्तपुर नगरपालिकाका तीन जना उत्कृष्ट स्वास्थ्य स्वयम्सेविकाहरूलाई पुरस्कृत गरेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उत्कृष्ट स्वास्थ्य स्वयम्सेविकाहरू भनपा वडा नं. ४ का रेश्मी हालेय जोशी, वडा नं. ७ का श्रीलक्ष्मी लवजू र वडा नं. ९ का लुद्रीमाया प्रजापतिलाई नगदसहित प्रमाणपत्र वितरण गर्नुभयो ।
कार्यक्रममा उहाँले महिला सामुदायिक स्वास्थ्य दिवसको अवसरमा बधाई तथा शुभकामना दिँदै सामूहिक हितको लागि गरिने स्वयम्सेवा गौरवको विषय हो भन्नुभयो ।
भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरुले पनि जनताको निःस्वार्थ रुपमा सेवा गर्दै आएको बताउँदै उहाँले देशलाई संकट परेको अवस्थामा जनताले स्वतःस्फूर्त रुपमा काम गर्नु नागरिक कर्तव्य भएको बताउनुभयो ।
स्वयम्सेवी भावनाले देश विकास पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै स्वयम्सेवा गर्ने उद्देश्यले सञ्चालित संघ संस्थाहरुमा भ्रष्टाचार हुनु अनैतिक कार्य हो भन्नुभयो । उहाँले स्वयम्सेवकहरुले आफ्नो कामप्रति आत्मगौरव गर्न सक्नुपर्छ भन्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर समाज र राष्ट्रका लागि काम गर्नेहरु सँधै सम्मानका पात्र बन्ने उहाँले बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले स्वास्थ्य क्षेत्रको विकास र प्रगतिमा महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुले समाजको मेरुदण्डको रुपमा काम गरिरहेको बताउनुभयो ।
उहाँले नगरको स्वास्थ्य तथ्यांकलाई अझ व्यवस्थित बनाउन स्वयम्सेविकाहरुले भूमिका खेल्नुपर्ने बताउँदै स्वास्थ्य स्वयम्सेविकाहरुलाई समयसापेक्ष तालिमहरु दिइनुपर्ने बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले स्वास्थ्य स्वयम्सेविकाहरुले नसर्ने रोगको जोखिम न्युनीकरणमा केन्द्रित भएर स्वास्थ्य स्वयम्सेविकाहरु अगाडि बढनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविकाहरुले सामुदायिक स्वास्थ्य क्षेत्रमा पु¥याउँदै आएको योगदान अत्यन्त सराहनीय छ भन्नुभयो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रतिनिधि तिव्रता शर्मा, स्वास्थ्य स्वयम्सेविकाको तर्फबाट प्रतिनिधि तारादेवी धन्छा, डाक्टर रत्नसुन्दर लासिवा र हेल्थ एसिसटेन्ट कमलकेशरी राजचलले पनि बोल्नुभएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.