Explore news and happenings at Bhaktapur

“विकास निर्माणको निम्ति भनपाले विदेशीको मुख ताकेको छैन”

भक्तपुर, १५ मङ्सिर ।

0
भक्तपुर नगरपालिका वडा नं. ४ वडा समितिको आयोजनामा भनपा र वडा कार्यालयबाट भएका सेवा प्रवाह तथा समसामयिक विषयमा जानकारी दिन जानकारी सभा सोमबार भयो ।
सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा नगरवासीको समस्या समाधान गर्न सदा तत्पर रहेको उल्लेख गर्दै प्रयत्न गरिएपछि समस्या सधैँ नरहने बताउनुभयो ।
उहाँले नयाँ पुस्तालाई विदेश पठाउनेभन्दा स्वदेशकै रोजगार दिलाउन लाग्नुपर्छ भन्दै अर्काको देशमा जानु भनेको दोस्रो दर्जाको नागरिक बन्नुसरह हुने बताउनुभयो ।
देशका पुँजीवादी सरकारहरूले विदेशी पुँजीको दलाली गर्दै युवाहरूलाई विदेश लखेट्ने कार्य गर्दै आएको उहाँले बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भनपाले नगरबाट निस्केको जैविक फोहोरलाई कम्पोष्ट मलमा परिणत गरी नगरकै किसानहरूलाई सुपथ मूल्यमा बिक्री वितरण गर्दै आएको र ख्वप अस्पताल र सहरी क्लिनिकहरू सञ्चालन गरी घरनजिक स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।
उहाँले भक्तपुरलाई शिक्षा र स्वास्थ्यको केन्द्र बनाउने नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्र साकार पार्न भनपा र निर्वाचित जनप्रतिनिधिहरूले निःस्वार्थ र इमानदारीपूर्वक कार्य गर्दै आएको बताउनुभयो ।
श्रमदान र आपसी सहयोगको भावना भक्तपुरका जनताको जीवनशैली नै रहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले भक्तपुरका मठ, मन्दिर, पाटीपौवा, सत्तल आदि जनताको श्रमदान र चन्दाबाट जीर्णोद्धार र पुनःनिर्माण भएका हुन् भन्नुभयो ।
भनपाले विकास निर्माणको निम्ति विदेशी सहायताको मुख नताकेको स्पष्ट पार्नुभयो । भनपाले कुनै पनि विदेशीको गलतसर्तसहितको सहायता कहिल्यै नस्वीकार्ने उहाँले बताउनुभयो ।
नगरवासीको योगदानले नै नगर स्वच्छ, सफा, सुन्दर तथा गौरवशाली हुने बताउँदै उहाँले नगरपालिकाबाट लिनु मात्र पर्छ, केही दिनुपर्दैन र नगरपालिकासित जसरी भए पनि निहुँ खोज्नुपर्छ भन्ने मानसिकता सभ्य नागरिकको विचार होइन भन्नुभयो ।
सभामा भनपाद्वारा सञ्चालित ख्वप कलेजका प्राचार्य प्रकाश श्रेष्ठले २०५४ सालको नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार क्रमशः ख्वप मावि हँुदै सञ्चालनमा आएका ख्वप सर्कलका कलेजहरूले भक्तपुर नगरका मात्र नभई ७७ वटै जिल्लाका विद्यार्थीलाई कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।
उहाँले हालसम्म ख्वप माविबाट २०,१२० विद्यार्थी कक्षा १२ उत्तीर्ण, ख्वप कलेजबाट ३ हजार बढी स्नातक, ६९४ जना स्नातकोत्तर उत्तीर्ण भइसकेको जानकारी पनि दिनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वले भक्तपुर नगरपालिकामा नेमकिपाबाट निर्वाचित जनप्रतिनिधिहरूले निःस्वार्थ र इमानदारीपूर्वक काम गरिरहेकाले विरोधीहरूले अनेक निहुँ खोजेर बदनाम गर्न खोजिरहेका हुन् भन्नुभयो ।
नेमकिपा र नेक्राकिसङ्घ माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराअनुसार कामदारवर्गका जनताको पक्षमा राजनीति गर्दै आएको स्पष्ट पार्दै उहाँले किसानहरूको मोहियानी हक खोस्न खोज्नेहरूले नेक्राकिसङ्घको विरोध गर्नु कुनै नौलो कुरा नभएको बताउनुभयो ।
सभामा सभापति एवं भनपा वडा नं ४ का वडाध्यक्ष उपेन्द्र सुवालले वडामा भएका विकास निर्माण तथा कार्य सम्पादनको सङ्क्षिप्त प्रतिवेदन पेस गर्दै भनपाले नगरवासीहरूको सेवा सुविधाका लागि हरसम्भव कोसिस गरिरहेको बताउनुभयो ।
सभामा ख्वप अस्पतालका निमित्त निर्देशक डा. मजेश प्रताप मल्ल, वडा सदस्यहरू पुरुषोत्तम तमखु, कृष्णसुन्दर प्रजापति तथा स्थानीय विश्वराम त्वायना, कृष्णलक्ष्मी दुवाल र राजेन्द्र माकले पनि बोल्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.