ख्वप कलेजमा रिसर्च एण्ड पब्लिकेशन्स् विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन
२०८२ मंसिर १२, शुक्रबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाबाट सञ्चालित ख्वप कलेजको आयोजनामा भएको ‘रिसर्च एण्ड पब्लिकेशन्स्’ विषयक दुई दिने कार्यशाला गोष्ठीको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै उहाँले विश्वविद्यालय र कलेजहरु अध्ययन अनुसन्धान गर्ने थलो भएको बताउँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरुले नयाँ नयाँ विषयमा अध्ययन अनुसन्धानमा जोड दिँदै आएको बताउनुभयो ।अनुसन्धानमा अगाडि बढेको देशले छिटो प्रगति गर्ने बताउँदै उहाँले विद्यार्थीहरुलाई पाठ्यपुस्तक सँगसँगै व्यवहारिक, नैतिक ज्ञान र अनुशासन पनि सिकाउनुपर्ने बताउनुभयो ।
हरेक खालको चुनौती सामना गर्ने शिक्षा विद्यार्थीहरुलाई दिनु नै शिक्षकहरुको सफलता हुने बताउँदै उहाँले नपाले अध्ययन अनुसन्धानको लागि कलेजहरुलाई प्रोत्साहन गर्दै आएको बताउनुभयो ।
नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले गुणस्तरमा प्रतिस्पर्धाको नीति अवलम्बन आएको बताउँदै उहाँले ख्वप सर्कलका हरेक विद्यार्थीलाई योग्य बनाउन खोजिरहेको र त्यसको लागि शिक्षकहरु योग्य हुनुपर्छ भन्नुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले ख्वप कलेजले वार्षिक रुपमा विभिन्न विषयहरुमा कार्यशाला, राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरु आयोजना गर्दै विद्यार्थीलाई अब्बल बनाउने प्रयत्न गर्दै आएको बताउनुभयो ।कार्यशालाका स्रोतव्यक्ति डा. टिकाराम गौतमले कार्यशालाको महत्वमाथि प्रकाश पार्दै उहाँले भक्तपुर नपाले देश र समाजमा समर्पित कलेजहरु स्थापना गरी नागरिकहरुलाई दिँदै आएको सेवा सुविधा उल्लेखनीय रहेको बताउनुभयो ।
उक्त कार्यक्रममा शिक्षकद्वय सुन्दर शिल्पकार र कमिनिका न्याइँच्याइँले पनि बोल्नुभएको थियो ।


